माडी
विद्यालयलाई १५ थान कम्प्युटर

बैशाख २२, २०७६
हतुवागढी गाउँपालिकाको घोरेटारमा रहेको सगरमाथा माथ्यामिक विद्यालयलाई कम्प्युटरसंँगै स्मार्ट टिभी हस्तान्तरण गरिएको छ । ईश्वर मन्दिर काठमाडौंँले विद्यालयलाई १५ थान कम्प्युटर र ४२ इञ्चको स्मार्ट टिभी हस्तान्तरण गरेको हो । संस्थाका संरक्षक तथा पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले विद्यालयलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
पछिल्लो समय सरकारले प्रविधिमैत्री माध्यमबाट शैक्षिक विकास गरिरहेकाले विद्यार्थीको शैक्षिकस्तर वृद्धि गर्नका लागि कम्प्युटरसंँगै इ–लर्निङ कक्षाको समेत उद्घाटन गरिएको छ ।
गत वर्ष भोजपुरको विद्योदय माध्यमिक विद्यालयबाट इ–लर्निङ कक्षा शुरु गरिएको थियोे । गत वर्ष पनि विद्योदय माविलाई २० थान, शारदा मावि प्याउलीलाई पाँच थान र भोजपुर नगरपालिका –८ पोखरेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई पाँच थान कम्प्युटर वितरण गरिएको थियो । आगामी दिनमा जिल्लाका अरु विद्यालयमा पनि इ–लर्निङ कक्षाको स्थापना गरिने संस्थाका अध्यक्ष प्रमेश केसीले बताउनुभयो ।
सिद्धकाली मन्दिरमा सर्वधर्म महायज्ञ
सबै ओमकार परिवारलाई एक सूुत्रमा बाँध्ने तथा धर्म परिवर्तनलाई निरुसाहन गर्ने उद्देश्यले सिद्धकाली मन्दिरमा आजदेखि पाँचदिने महायज्ञ शुरु भएको छ । यज्ञमा हिन्दू, बौद्ध, किरात, जैन र शिख धर्मका गुरुले एकै थलोबाट प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यज्ञमा महारुद्री तथा किरात राई लामागुरुबाट छोकापाठ गरिने आयोजकको भनाइ छ । यज्ञ शुरु हुनुपूर्व भोजपुर बजारमा कलशयात्रा समेत गरिएको थियो । किराँत राई यायोक्खाका जिल्ला सचिव विदुर राईले भन्नुभयो ‘‘ पछिल्लो समय धर्मका नाममा समाज बिखण्डनतिर जाने अवस्था छ, यस्तो कार्यले सबै जातजातिबीच धार्मिक सहिष्सणुता बढाउँछ ।’’ कार्यक्रममा विभिन्न जातजातिको संस्कार संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।