चितवन विशेष
लामिछाने दम्पतिलाई माडीमा दुई माविको नेतृत्वको अवसर

चितवन, कात्तिक १०–
माडी नगरपालिकाले शिक्षा नियमावलीअन्तर्गत रहेर गरेको प्रधानाध्यापक व्यवस्थापनसँगै यस क्षेत्रका सामुदायिक विद्यालयहरूमा नयाँ नेतृत्व चयन गरेको छ।
नगरपालिकाको निर्णयअनुसार माडीका सर्वाधिक विद्यार्थी संख्या रहेका प्रतिष्ठित विद्यालयदेखि अन्य आधारभूत विद्यालयहरूसम्ममा अनुभवी एवं ख्यातिप्राप्त शिक्षकहरूलाई जिम्मेवारी तोकिएको छ। नयाँ व्यवस्थापनअनुसार माडी क्षेत्रको सबैभन्दा बढी विद्यार्थी संख्या रहेको दिवाकर स्मृति माध्यमिक विद्यालयको प्रधानाध्यापकमा इन्दिरा तिवारी नियुक्त हुनुभएको छ। यसअघि उहाँले समेश्वर माध्यमिक विद्यालयको प्रधानाध्यापकको रूपमा जिम्मेवारी सम्हाल्दै विद्यालयको ऐतिहासिक ‘स्वर्ण महोत्सव’ समारोहलाई भव्य र सफल रूपमा नेतृत्व गर्दै सम्पन्न गर्नुभएको थियो। लामो समयदेखि शैक्षिक क्षेत्रमा समर्पित उहाँको कुशल प्रशासनिक क्षमता र नेतृत्वकौशल दिवाकर स्मृति मा.वि. का लागि ठूलो उपलब्धि बन्ने अपेक्षा गरिएको छ।
त्यस्तै, सोमेश्वर माध्यमिक विद्यालयको प्रधानाध्यापकमा युवराज लामिछाने नियुक्त हुनुभएको छ। नवनियुक्त प्रअ लामिछाने यसअघि सोही सोमेश्वर माध्यमिक विद्यालयमै सहायक प्रधानाध्यापकको रूपमा लामो समयसम्म प्राज्ञिक तथा प्रशासनिक भूमिका निर्वाह गर्नुभएको थियो। साथै, उहाँले उच्च शिक्षाको क्षेत्रमा माडी क्याम्पसको सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समेत सफलतापूर्वक सम्हालिसक्नुभएको छ।
क्याम्पस र विद्यालय दुवै तहको नेतृत्व अनुभव सङ्गाल्नुभएका लामिछानेको आगमनले सोमेश्वर मा.वि. को शैक्षिक गुणस्तर थप उचाइमा पुग्ने विश्वास गरिएको छ। एकै परिवारका (दम्पति) तिवारी र लामिछानेले माडीका दुई अग्रणी विद्यालयको प्रमुख नेतृत्व सम्हाल्नुभएको संयोगलाई स्थानीय प्राज्ञिक समाजले एक प्रेरणादायी उदाहरणको रूपमा लिएको छ।
यसैबीच, माडीकै अर्को शैक्षिक धरोहर जनकल्याण माध्यमिक विद्यालयको प्रधानाध्यापकमा रामबहादुर जिसी जिम्मेवारीमा रहनुभएको छ। प्रअ जिसीले विगत १० वर्षदेखि विद्यालय सुधारका निम्ति गर्नुभएको गहिरो मेहनत, खटाइ र व्यापक परिवर्तनका कारण यो विद्यालय अहिले माडीकै एक उत्कृष्ट नमुना विद्यालयका रूपमा स्थापित भइसकेको छ।
यसका साथै, माडी नगरपालिकाको यस समसामयिक शैक्षिक व्यवस्थापनअन्तर्गत श्री आधारभूत विद्यालय सिम्रहनीलगायत अन्य विभिन्न आधारभूत विद्यालयहरूमा समेत आवश्यकता र मापदण्डअनुसार नयाँ प्रधानाध्यापकहरूको जिम्मेवारी तोकिएको छ। नगरपालिकाको शिक्षा शाखाका अनुसार यस किसिमको व्यवस्थापनले स्थानीय तहका सबै विद्यालयहरूमा शैक्षिक प्रशासनलाई थप व्यवस्थित, पारदर्शी, सुदृढ र परिणाममुखी बनाउन सहयोग पुग्नेछ।
माडीका विद्यालयहरूमा आएको यो व्यापक प्राज्ञिक फेरबदलले यस क्षेत्रको समग्र शैक्षिक उन्नयन, अनुशासन र गुणस्तर वृद्धिका लागि नयाँ आयाम थप्नेमा यहाँका शिक्षाप्रेमी, अभिभावक तथा बुद्धिजीवीहरू पूर्ण रूपमा आशावादी देखिएका छन्।























