चितवन विशेष
चितवनमा मगर भाषा र संस्कृति समेटिएको ‘निठ्यान(निधो)’ साहित्यिक पत्रिका लोकार्पण

चितवन, मंसिर ५-
मगर समुदायको भाषा, साहित्य, परम्परा, संस्कृति र इतिहासको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रकाशित ‘निठ्यान (निधो)’ साहित्यिक पत्रिका लोकार्पण गरिएको छ ।
नेपाल मगर संघ जिल्ला कार्यसमिति चितवनद्वारा प्रकाशित यस पत्रिकाको पहिलो संस्करण आज (शनिबार) चितवनको भरतपुरमा नेपाल मगर लेखक संघका केन्द्रिय उपाध्यक्ष हर्क आलेमगरको हातबाट लोकार्पण गरिएको हो ।
पत्रिकामा ५९ जना सर्जकका लेख तथा रचना समेटिएका छन् । जसमा मगर अक्खालिपिमा ११ वटा कविता तथा गजल, मगर ढुट भाषामा ८ वटा र मगर नेपाली भाषामा २३ वटा लेख तथा रचना समावेश छन् । त्यस्तै, मगर नेपाली भाषामा आत्मकथा, संस्मरण, निबन्ध, प्रबन्ध, लघुकथा र एकाङ्कीलगायत विभिन्न विधाका साहित्यिक सिर्जना समेटिएका छन् ।
नेपाल मगर लेखक संघ गण्डकी प्रदेश समितिका अध्यक्ष खडक पामी आलेमगरले पत्रिकामा मगर अख्खा लिपिका वर्णहरू तथा मगर भाषामा महिना, बार, दिशा र रङहरूको जानकारीसमेत समावेश गरिएको बताए । उनले पत्रिकाको सबैभन्दा महत्वपूर्ण पक्ष मगर ढुट भाषामा साहित्यिक सिर्जना गर्ने प्रयास भएको उल्लेख गरे । मगर भाषाका शब्द, अभिव्यक्ति, अनुभूति र मौलिक जीवनशैलीलाई साहित्यिक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको उनको भनाइ छ । मगर समुदायको भाषा, साहित्य र मौलिक पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न यस साहित्यिक पत्रिकाले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको एक महिने मगर ढुट भाषा तथा अख्खालिपि प्रशिक्षण कार्यक्रमपछि भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पत्रिका प्रकाशन गरिएको हो । सामान्यतया भाषा प्रशिक्षण कार्यक्रम सिकाइ र प्रमाणपत्र वितरणमा सीमित हुने गरे पनि यस कार्यक्रमबाट प्राप्त ज्ञानलाई साहित्यिक सिर्जनामा रूपान्तरण गरी प्रकाशनसम्म पु¥याउनु महत्वपूर्ण उपलब्धि भएको संस्थाकी अध्यक्ष धनमाया थापामगरले बताइन् ।
आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले भाषा, कला र संस्कृति लोप हुँदै गइरहेको अवस्थामा यस्ता प्रकाशनले संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने बताए । उच्च शिक्षा हासिल गर्न विभिन्न स्थानमा पुग्दा पनि आफ्नो भाषा र संस्कृतिको प्रवद्र्धन गर्न सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
























