राजनीति
भारतसँगको व्यापार सम्बन्ध सच्याउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ : डा.बाबुराम भट्टराई

काठमाडौं, मंसिर ५-
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारतबीचको व्यापार घाटा, विद्युत् निर्यात, हवाई मार्ग र पारवहनका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका डा. भट्टराईले नेपाल र भारतबीच लामो समयदेखि कायम व्यापार असन्तुलन संरचनात्मक समस्या भएको भन्दै त्यसलाई समाधान गर्न स्पष्ट दृष्टिकोण र नीतिगत पहल आवश्यक रहेको बताए ।
उनले नेपाल भारतसँग संरचनात्मक रूपमा निर्भर सम्बन्धमा बाँधिएको भन्दै व्यापारको प्रकृति, निर्यात–आयातको अनुपात र वस्तु विनिमयको असमानतालाई समेत छलफलमा उठाउनुपर्ने बताए ।
‘हाम्रो व्यापारको प्रकृति मात्रै हेरेर हुँदैन, दशकौँदेखि निर्यात र आयातको अनुपातमा ऐतिहासिक असन्तुलन रहँदै आएको छ । हामी कच्चा पदार्थ बढी निर्यात गर्ने र तयारी वस्तु बढी आयात गर्ने अवस्थामा छौँ। यसले असमान विनिमय सम्बन्ध सिर्जना गरेको छ,’ उनले भने।
भट्टराईले नेपाली वस्तुको भारतीय बजारमा सहज पहुँच नहुनु र गैरभन्सार अवरोध हटाउन नसक्नु पनि व्यापार घाटाको कारण रहेको बताए । नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि बजार पहुँच सहज बनाउनुपर्ने उनको भनाइ छ ।
उनले खुला सीमालाई बन्द गर्ने नभई व्यवस्थित गर्नुपर्ने बताए । दुवै देशको सुरक्षा चासोलाई सम्बोधन गर्दै सीमा व्यवस्थापन गर्नुपर्ने र असमान निर्भरता घटाउने विषयमा छलफल गर्नुपर्ने उनले बताए ।
उनले भने,‘हामी लामो समयदेखि असमान निर्भरता सम्बन्धमा बाँधिएका छौं । त्यसलाई कसरी सच्याउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्छ । खुला सीमा छ, त्यसलाई बन्द गर्ने होइन, व्यवस्थित गर्ने हो ।’
डा।भट्टराईले नेपालको विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको अवस्थामा भारतमा विद्युत् निर्यातलाई सहज बनाउनुपर्ने बताए । विद्युत् व्यापारमा अवरोध हटाउने र दीर्घकालीन विद्युत् व्यापार सम्झौता गर्ने विषयमा पहल गर्नुपर्ने उनको भनाइ छ ।
नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्ने बाटो पनि सहज बनाउनुपर्ने उनले बताए । विद्युत् निर्यात नेपालको व्यापार घाटा कम गर्ने महत्वपूर्ण माध्यम बन्न सक्ने उनले उल्लेख गरे ।
त्यस्तै, कृषि उत्पादनको निर्यातमा क्वारेन्टाइन, उत्पत्ति प्रमाणपत्रलगायतका प्रक्रियामा हुने झन्झट हटाउनुपर्ने उनले बताए । नेपाली कृषि उत्पादन भारतीय बजारमा सहज रूपमा पु¥याउन आवश्यक व्यवस्थापन र निर्यात मार्ग उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
डा।भट्टराईले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो लगानी भएको भन्दै भारतबाट पश्चिमतर्फका हवाई प्रवेश मार्ग उपलब्ध गराउनुपर्ने बताए । नेपालले महेन्द्रनगर, नेपालगञ्जलगायत पश्चिमी क्षेत्रबाट हवाई प्रवेशको सुविधा माग गर्नुपर्ने उनले बताए।
‘भैरहवा र पोखरा विमानस्थलमा हामीले ठूलो लगानी गरेका छौँ। त्यसका लागि हवाई प्रवेश मार्ग पनि दिनुप¥यो। कम्तीमा पश्चिमपट्टिबाट एउटा प्रवेश मार्ग उपलब्ध गराउनुपर्छ,’ उनले भने।
भारतले सुरक्षा संवेदनशीलता देखाएर हवाई मार्गका विषयमा शर्त राख्ने गरेको भए पनि त्यसलाई संवादबाट समाधान गर्नुपर्ने उनले बताए ।
भट्टराईले भारतसँगका सम्बन्धमा मागेर मात्रै उपलब्धि हासिल नहुने भन्दै नेपालको आफ्नै सामथ्र्य वृद्धि गर्नुपर्नेमा जोड दिए ।
‘शक्ति नभईकन राजनीतिमा दया–माया गरेर पाइँदैन, मागेर पाइने होइन। आफ्नो सामथ्र्य बढाएर, बुद्धि र विवेकपूर्ण ढंगले सकिन्छ भने लिनुपर्छ,’ उनले भने।
उनले नेपाल–भारत सम्बन्धका विषयमा आपसी आरोपप्रत्यारोपभन्दा संवाद र कूटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्ने बताए। प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार, ऊर्जा, पारवहन, हवाई मार्ग र सीमा व्यवस्थापनलगायत विषयलाई समग्र रूपमा उठाउनुपर्ने उनको सुझाव छ।























