Breaking News
राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छः गृहमन्त्री गुरुङ

काठमाडौं, मंसिर ५ –
गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीले कुनै पनि राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्नुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कर्मचारीको प्रमुख जिम्मेवारी जनताको सेवा र राष्ट्रप्रतिको इमानदारी हुनुपर्ने बताएका हुन्।
गृहमन्त्री गुरुङले नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने उल्लेख गरेका छन्।
उनले पटकपटक स्पष्ट पार्दा पनि राजनीतिक दलको पक्षमा लागेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले पालेको भए त्यस्तो सोच त्याग्न चेतावनी दिएका छन्।
आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही गरिने उनको भनाइ छ। यस विषयमा कुनै सम्झौता नहुने पनि उनले स्पष्ट पारेका छन्।
गुरुङले सरकारलाई नेताको चाकडी गर्ने कर्मचारी नभई जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्ने र देशप्रति समर्पित राष्ट्रसेवक आवश्यक रहेको बताएका छन्।
























