देश/प्रदेश

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ठेक्का आह्वान

०
Banner

काठमाडौं, मंसिर ५ –

कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरेको छ ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको पहलमा मंसिर ४ गते रंगशालाको पूर्वाधार निर्माणका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (एनसीबी) आह्वान गरिएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीले अनलाइनमार्फत बोलपत्र आह्वान गरेको छ । ठेक्का छनोटका लागि सिङ्गल स्टेज टु इन्भेलप विधि अपनाइने कार्यालयले जनाएको छ ।

यस ठेक्काअन्तर्गत रंगशालाको मैदान निर्माणका लागि हालको जमिनको सतहमा माटो भर्ने र जमिन सम्याउने काम गरिनेछ । त्यसैगरी प्यारापिटको अगाडिको भागमा ब्लक निर्माणलगायतका पूर्वाधारका काम अघि बढाइनेछ ।

बोलपत्रमा सहभागी हुन इच्छुक निर्माण कम्पनीको औसत वार्षिक निर्माण कारोबार भ्याटबाहेक कम्तीमा १३ करोड ८१ लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, कम्तीमा एउटा समान प्रकृतिको आरसीसी फ्रेम स्ट्रक्चर परियोजना भ्याटबाहेक ११ करोड १० लाख रुपैयाँ बराबरको सम्पन्न गरेको अनुभव हुनुपर्नेछ ।

कार्यालयले बोलपत्र जमानत रकम ५४ लाख रुपैयाँ तोकेको छ । बोलपत्र खुलेको मितिले ९० दिनसम्म बोलपत्र मान्य रहने र बोलपत्र जमानतको अवधि १२० दिन हुनुपर्ने व्यवस्था गरिएको छ ।

इच्छुक निर्माण कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली मार्फत बोलपत्रसम्बन्धी कागजात प्राप्त गरी प्रक्रियामा सहभागी हुन सक्नेछन् । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सुदूरपश्चिमको खेल पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारको महत्त्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ । रंगशाला निर्माणले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिको केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>