देश/प्रदेश
वित्तीय अपराध अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिमा जोड

काठमाडौँ, मङ्सिर १ –
प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको ७१ औँ स्थापना दिवसको अवसरमा आज आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले वित्तीय अपराध नियन्त्रणमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभएको हो ।
उहाँले वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सूचनाको सहज, समयमै र प्रभावकारी आदानप्रदान गर्ने प्रणाली सुदृढ बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानः वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषय ‘वित्तीय अपराध अनुसन्धानः प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ ।
कार्यशालामा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको छ ।
सोही अवसरमा प्रहरी महानिरीक्षक डा केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाको सङ्ग्रह–भाग ३’ पुस्तक लोकार्पण गर्नुभयो । कार्यशालाले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीको वस्तुनिष्ठ विश्लेषण गर्नुका साथै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान गर्न सहयोग पुग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
























