Breaking News
भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १-
भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो।
डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा अत्यधिक बिरामीको चाप हुने गरेको छ। सामान्यतया अस्पतालमा दैनिक ३ हजार देखि ३ हजार ५०० सम्म नयाँ बिरामीहरू आउने गरेका छन्। विशेष गरी बिहान ९ बजेदेखि २ बजेको समयावधिमा अत्यधिक भिडभाड हुने गरेको उनले बताए। पिक सिजनमा दैनिक ३ हजार ८०० जनासम्म बिरामी आएको रेकर्ड रहेको छ भने आजको दिनमा पनि सोही अनुपातमा सेवाग्राहीहरूको उपस्थिति रहेको छ।
अस्पतालको प्रशासनिक तथा व्यवस्थापकीय चुनौतीबारे बोल्दै डा बगालेले मन्त्रिपरिषद्बाट अस्पताल ५०० बेडको लागि स्वीकृत भए पनि सोही अनुसारको दरबन्दी अझै प्राप्त नभएको बताए। अस्पतालमा चिकित्सकसहित कुल १७५ जनाको मात्रै स्थायी दरबन्दी रहेको छ।
५०० बेडको स्वीकृति आएको ३–४ वर्ष बितिसक्दा पनि नयाँ दरबन्दी सिर्जना नभएकाले बाँकी जनशक्ति अस्पताल विकास समिति मार्फत व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ। हाल ५०० बेडको स्वीकृतिप्राप्त अस्पताल भए पनि संरचनागत रूपमा १०० बेडको मात्र दरबन्दी सञ्चालनमा रहेको र त्यो पनि पर्याप्त नभएको डा बगालेले स्पष्ट पारे।
अस्पतालमा हुने अत्यधिक भिडभाडलाई कम गर्न र सेवाग्राहीलाई सहजता प्रदान गर्न प्रविधिको प्रयोगलाई तीब्र पारिएको छ। हाल नेपालमै सबैभन्दा बढी अनलाइन टिकट काट्ने अस्पतालहरूको रूपमा भरतपुर अस्पताल रहेको उनले दाबी गरे। दैनिक ३०० देखि ४०० जनासम्मले अनलाइनमार्फत टिकट लिने तथा भुक्तानी गर्ने गरेको र यसले गर्दा लामो लाइन बस्नुपर्ने झन्झट घटेको छ। साथै, बिरामीहरूले आफ्ना रिपोर्टहरू मोबाइलबाटै हेर्न र मेसिनमार्फत प्रिन्ट लिन सक्ने व्यवस्थालाई थप व्यवस्थित बनाइएको छ।
























