Uncategorized

बंगलादेशमा विद्युत् निर्यात गर्न भारतसँग दीर्घकालीन समाधान खोजिने

०
Banner

काठमाडौं, कार्तिक ३०-

नेपालले बंगलादेशमा ६० मेगावाट विद्युत् निर्यात गर्ने तयारी गरे पनि भारतको स्वीकृति नपाउँदा थप २० मेगावाट बिजुली निर्यात योजना अन्योलमा परेको छ ।
नेपाल र बंगलादेशबीच थप विद्युत् निर्यात गर्ने सैद्धान्तिक सहमति भइसके पनि भारतले आफ्नो प्रसारण लाइन प्रयोग गर्न अनुमति नदिँदा हाल ४० मेगावाट मात्रै निर्यात भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बंगलादेश ६० मेगावाट नै लिन तयार छ । तर, भारतको प्रसारण प्रणाली प्रयोग गर्नुपर्ने भएकाले थप २० मेगावाट निर्यात गर्न भारतीय पक्षको अनुमति अनिवार्य छ । भारतले प्राविधिक कारण देखाउँदै थप विद्युत् निर्यात अनुमति दिन मानेको छैन ।

प्राधिकरणका एक अधिकारीका अनुसार हालै भएको नेपाल–भारत सचिवस्तरीय वार्तामा पनि यो विषय उठाइएको थियो । तर, भारतीय पक्षबाट थप विद्युत् निर्यातका लागि सकारात्मक संकेत आएको छैन । नेपाल र बंगलादेशबीच २०२५ नोभेम्बर २७ मा ढाकामा भएको सचिवस्तरीय संयुक्त स्टेयरिङ कमिटी (जेएससी) बैठकले थप २० मेगावाट विद्युत् निर्यात गर्ने सैद्धान्तिक सहमति गरेको थियो ।

सोही सहमति अनुसार नेपालले यस वर्ष जुन १५ देखि थप विद्युत् निर्यात गर्ने तयारी गरेको थियो । त्यसका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) सँग अनुमति मागिएको थियो । तर, सीईएले भारत–बंगलादेश प्रसारण लाइनमा पर्याप्त अतिरिक्त क्षमता नरहेको भन्दै अनुमति दिन नसकिने जानकारी गराएको थियो । सीईएका अनुसार उक्त प्रसारण लाइनमा हाल ३० देखि ४० मेगावाट मात्रै अतिरिक्त क्षमता ९स्पेयर क्यापासिटी० उपलब्ध छ ।

भारतले बंगलादेशमा करिब ३ हजार मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । यस्तो अवस्थामा थप २० मेगावाट विद्युत् पठाउँदा प्रसारण लाइनको बाँकी क्षमता घट्ने र प्रणाली सञ्चालनमा प्राविधिक जोखिम हुन सक्ने भारतीय पक्षको तर्क छ । प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालन गर्दा आकस्मिक अवस्था वा प्रणालीमा हुने उतारचढाव व्यवस्थापन गर्न कठिन हुने उसको बुझाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>