चितवन विशेष
दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका किसानको माग

चितवन, कार्तिक ३०-
चितवनका दुग्ध उत्पादक किसानले एक साताभित्र दूधको मूल्य वृद्धि गर्न सरकारसँग माग गरेका छन्। माग सम्बोधन नभए सडक आन्दोलनमा उत्रने चेतावनीसमेत उनीहरूले दिएका छन्।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी किसानले प्रतिलिटर दूधको ७५ रुपैयाँ पाउने गरी मूल्य निर्धारण गर्न माग गरेको हो। चार वर्षदेखि दूधको मूल्य वृद्धि नहुँदा उत्पादन लागत धान्न कठिन भएको संघको भनाइ छ।
संघका सचिव कल्याण अधिकारीले दूधको मूल्य वृद्धि गर्न दसैंअघि नै कृषि मन्त्रालयदेखि संघीय संसद्को कृषि समितिसम्म मागपत्र बुझाए पनि सुनुवाइ नभएको बताए। राष्ट्रिय दुग्ध विकास नीति–२०७८ मा प्रत्येक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था भए पनि सरकारले त्यसको कार्यान्वयन नगरेको उनले बताए।
संघका अध्यक्ष किशोर बगालेका अनुसार चार वर्षअघि चिल्लो पदार्थ चार र एसएनएफ आठ भएको दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ निर्धारण गरिएको थियो। हालसम्म किसानले पाउँदै आएको अधिकतम मूल्य पनि यही हो। दूधमा फ्याट र एसएनएफको मात्रा कम भए किसानले त्योभन्दा कम मूल्य पाउने गरेका छन्।
बगालेले अहिले दूध उत्पादनको लागत प्रतिलिटर ६० रुपैयाँभन्दा बढी पुगेको दाबी गरे। दाना तथा त्यसमा प्रयोग हुने कच्चा पदार्थको मूल्य निरन्तर बढेको उनको भनाइ छ। चार वर्षअघि प्रतिकिलो २५ रुपैयाँ पर्ने मकैको मूल्य अहिले ५५ रुपैयाँ पुगेको छ भने ढुटोको मूल्य ३० रुपैयाँबाट बढेर ४५ रुपैयाँ पुगेको उनले जानकारी दिए।
राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्यवृद्धिका लागि तत्काल प्रक्रिया अघि बढाउनुपर्ने बगालेको माग छ। बोर्डले गरेको अध्ययनका आधारमा सरकारले मूल्य निर्धारण गर्न सक्ने भए पनि आवश्यक सिफारिस हुन नसकेको उनले बताए।
























