अन्तर्राष्ट्रिय
विष्णु कुँवरको उपचारका लागि जापानका व्यवसायी टीका श्रेष्ठद्वारा ५ लाख १५ हजार रुपैयाँ सहयोग

टोकियो (जापान),कात्तिक २७-
भवानी भट्ट
जापानमा गम्भीर स्वास्थ्य समस्याका कारण लामो समयदेखि उपचाररत नेपाली चेली विष्णु कुँवरको उपचार तथा स्वदेश फिर्ती अभियानमा जापानबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको छ ।
जापानमा व्यवसाय गर्दै आउनुभएका नेपाली व्यवसायी टिका श्रेष्ठले विष्णुको उपचार र नेपाल फर्काउने व्यवस्थाका लागि ५ लाख १५ हजार रुपैयाँ सहयोग गरेका छन् । यो रकम अभियानमा हालसम्म प्राप्त भएको सबैभन्दा ठुलो व्यक्तिगत सहयोग हो ।
बागलुङको बडिगाड गाउँपालिका–१० की विष्णु अध्ययनका लागि जापान आएकी थिइन् । गत मे १३ मा जापानको हानेदा क्षेत्रमा पार्ट टाइम काम गर्ने क्रममा अचानक ढलेपछि उनलाई गम्भीर मस्तिष्कघात (ब्रेन ह्यामरेज) भएको थियो। त्यसपछि उलाई अस्पताल भर्ना गरी जटिल शल्यक्रियासहित उपचार गरिएको थियो। लामो समय सघन उपचारमा रहेकी विष्णुको स्वास्थ्यमा क्रमिक सुधार भए पनि थप उपचार, पुनस्र्थापना र निरन्तर हेरचाह आवश्यक छ।
परदेशको अस्पतालमा उपचाररत विष्णुलाई नेपाल फर्काएर परिवारको साथमा थप उपचार गराउने उद्देश्यले सहयोग अभियान सञ्चालन भइरहेको छ। यस अभियानमा जापानसहित विभिन्न देशमा रहेका नेपालीहरूले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्दै आएका छन्।
यसै क्रममा टिका श्रेष्ठले उपलब्ध गराएको ५ लाख १५ हजार रुपैयाँले विष्णुको उपचार तथा स्वदेश फिर्ती अभियानलाई महत्त्वपूर्ण आर्थिक टेवा पुग्नेछ।
श्रेष्ठ जापानमा व्यवसाय गर्दै आउनुभएका सामाजिक तथा मानवीय सेवामा सक्रिय नेपाली व्यवसायी हुन् । उनले यसअघि नेपालमा भोटेकोशी क्षेत्रमा आएको बाढीका बेला नेपाल सरकारको राहत कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए । विपद्का बेला राष्ट्रिय स्तरको राहत अभियानदेखि
उपचारको आवश्यकता परेका व्यक्तिलाई सहयोग गर्नेसम्मका कार्यमा उनले देखाउँदै आएको सक्रियता सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको उदाहरण हो।
तस्बिर : भवानी भट्ट
























