अर्थ

नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने

०
Banner

काठमाडौं,कात्तिक १९-

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

नेपाल उद्योग परिसंघको अगुवाइमा सन् २०१४ देखि आयोजना हुँदै आएको सम्मेलन यस वर्ष नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको हो ।

सम्मेलनमा लगानी बोर्डको कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाली युवा निर्माण व्यवसायी समुदाय सहआयोजकका रूपमा रहनेछन् ।

‘उत्थानशील भविष्यका लागि पूर्वाधार निर्माण’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार, लगानीका सम्भावना र परियोजना कार्यान्वयनका विषयमा छलफल हुनेछ ।

सम्मेलनमार्फत नेपाल सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न भएका कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराउनेछ । विशेषगरी स्वदेशी लगानीकर्तालाई पूर्वाधार क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने सरकारको तयारी छ ।

सम्मेलनमा लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित तीन प्रमुख विषयमा प्रस्तुति तथा छलफल हुने आयोजकले जनाएको छ । जसमा ६९ वटा विधेयकमार्फत कानुनी सुधार तथा लगानी र विकासका लागि कानुनी संरचनाको आधुनिकीकरण, राष्ट्रिय पूर्वाधार खाका र लगानीकर्ताले सामना गरिरहेका समस्या समाधानका लागि प्रभावकारी कार्यान्वयन संयन्त्रको विकास रहेका छन् ।

राष्ट्रिय पूर्वाधार खाकाअन्तर्गत मुलुकको विद्यमान पूर्वाधार अवस्था, प्रस्तावित योजना तथा आगामी १० वर्षको दीर्घकालीन दृष्टिकोण प्रस्तुत गरिनेछ ।

दुई दिने सम्मेलनमा करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना लगानीकर्तामाझ प्रस्तुत गर्ने तयारी गरिएको छ । हालसम्म २३ वटा परियोजना पहिचान भइसकेका छन् । सम्मेलनको तयारीका क्रममा थप परियोजनासमेत पहिचान तथा छनोट गरिने आयोजकले जनाएको छ ।

पहिचान गरिएका परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुका साथै सम्भाव्य परियोजनामा लगानी सम्झौता गर्ने तयारीसमेत गरिएको छ ।

सम्मेलनमा पूर्वाधार, ऊर्जा, सहरी विकास, क्षेत्रीय यातायातलगायत १२ वटा विषयगत क्षेत्रमा छलफल हुनेछ ।

प्रत्येक विषयगत छलफलमा सम्बन्धित मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिले आफ्नो कार्यक्षेत्रभित्र भएका कानुनी तथा नीतिगत सुधार र लगानीका लागि पहिचान गरिएका परियोजनाबारे जानकारी गराउनेछन् ।

सरकार र निजी क्षेत्रबीच पूर्वाधार विकासका प्राथमिकता, लगानीका सम्भावना तथा परियोजना कार्यान्वयनका चुनौतीबारे साझा धारणा निर्माण गर्ने सम्मेलनको अपेक्षा छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको अध्यक्षता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गर्नेछन् ।

पूर्वाधार विकासमा आवश्यक नीतिगत तथा कानुनी सुधार, परियोजनाको प्रभावकारी कार्यान्वयन र सरकार तथा निजी क्षेत्रबीच सहकार्य विस्तारका लागि सम्मेलन महत्वपूर्ण मञ्च बन्ने आयोजकको विश्वास छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>