देश/प्रदेश
यी हुन् डोल्पामा सुरुङ खनेर कारागारबाट भाग्नेहरू

काठमाडाैं, कात्तिक १४-
जिल्ला कारागार कार्यालय डाेल्पाबाट सुरुङ खनेर भागेका आठै जना कैदीकाे प्रहरीले पहिचान सार्वजनिक गरेकाे छ । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारमा शुक्रबार राति सुरुङ खनेर कैदीहरू फरार भएका थिए ।
फरार हुनेमा रुकुम पश्चिमकाे आठविस्कोट नगरपालिका– १० का ३२ वर्षीय राम विक, डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका– ७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानकाे कुमाख गाउँपालिका– ५ का २८ वर्षीय रेशम राना, जाजरकोटकाे बारेकोट गाउँपालिका– १ का २५ वर्षीय यज्ञ विक र डोल्पाकाे त्रिपुरासुन्दरी– ४ का २८ वर्षीय धन बुढा भन्ने हरी बहादुर बुढा छन् । उनीहरू सबै जबर्जस्ती करणी मुद्धामा कैद सजाय भाेगिरहेका थिए ।
यस्तै, जाजरकोटकाे नलगाड नगरपालिका– ९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार, रुकुम पश्चिमकाे आठविस्कोट नगरपालिका– ५ का ३८ वर्षीय तिलक भण्डारी र रुकुम पश्चिमकाे आठविस्कोट नगरपालिका– ३ का ३२ वर्षीय आदेश भण्डारी फरार छन् । उनीहरू चाेरी मुद्दामा पुर्पक्षको लागि थुनुवामा थिए ।
जिल्ला प्रहरी कार्यालय डाेल्पाका डीएसपी अनिलराज गिरीका अनुसार उनीहरू ४.६३ मिटर लामो सुरुङ खनेर कारागारबाट भागेका हुन् ।
फरार कैदीकाे खाेजी सुरु भइसकेकाे प्रहरीले जनाएकाे छ ।
























