चितवन विशेष
घरको छत, टिनको छाना र एसीको पानी सडकमा नफाल्न भरतपुर–१ को आग्रह

चितवन, कार्तिक ११–
भरतपुर महानगरपालिका वडा नम्बर १ कार्यालयले घरको छत, टिनको छाना तथा एसीबाट निस्कने पानी सडक र सडकपेटीमा खस्ने गरी नराख्न वडावासीलाई आग्रह गरेको छ। वडा कार्यालयले सूचना जारी गर्दै पानीको उचित व्यवस्थापन गर्न सम्बन्धित घरधनी तथा व्यवसायीलाई निर्देशन दिएको हो।
वडा कार्यालयका अनुसार घरको छत, टिनको छाना र एसीबाट निस्कने पानी सिधै सडकपेटी तथा सडकमा खस्दा पैदलयात्री र सवारीसाधनमा यात्रा गर्ने यात्रुहरू प्रभावित हुने गरेका छन्। यसका साथै पिच सडक तथा मोज्याक टायलसमेत क्षतिग्रस्त हुने समस्या देखिएको सूचनामा उल्लेख छ। वडा कार्यालयले यसअघि पनि पटक–पटक सूचना प्रकाशित गरी पानीको उचित निकास व्यवस्थापन गर्न आग्रह गरेको जनाएको छ। कार्यालयले २०८० साल असार २०, कात्तिक १५, मंसिर ५ तथा २०८१ साल असार १३ गतेसमेत यससम्बन्धी सूचना प्रकाशित गरेको थियो।
तर, कतिपय घरधनी तथा व्यवसायीले अझैसम्म पानी निकासको उचित व्यवस्थापन नगरेको भन्दै वडा कार्यालयले पुनः सूचना जारी गर्नु परेको वडा अध्यक्ष केशव महर्जनले जानकारी दिए । सूचनामा अबको एक साताभित्र घरको छत, टिनको छाना र एसीबाट निस्कने पानी जमिनसम्म पाइप जडान गरी उचित निकासको व्यवस्था गर्न भनिएको छ। तोकिएको समयभित्र पानी निकासको उचित व्यवस्थापन नगरेमा सम्बन्धित पक्षलाई भरतपुर महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिने वडा कार्यालयले चेतावनी दिएको छ।
वडा अध्यक्ष केशव महर्जनद्वारा जारी सूचनामा सार्वजनिक सडक तथा सडकपेटीको संरक्षण र पैदलयात्रीको सहज आवागमनका लागि सबै घरधनी तथा व्यवसायीलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ।

























