चितवन विशेष

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

०
Banner

चितवन,कात्तिक ९ –

नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम शुरु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमको भारतको ट्राभल ट्रेड वेलफेयर एशोसिएशनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा भारतका विभिन्न शहरबाट २३ भन्दा बढी पर्यटन तथा ट्राभल व्यवसायी सहभागी हुनुहुन्छ । उहाँहरुलाई रुपन्देहीको बेलहिया नाकामा विशेष कार्यक्रमसहित स्वागत गरिएको थियो । व्यवसायीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराउने र सुनौली हुँदै लुम्बिनी क्षेत्र, रामग्राम स्तूप, अमलटारी र चितवनको सौराहालगायतका गन्तव्यमा भ्रमण गराउने कार्यक्रम छ । आयोजक संस्था गैरआवासीय नेपाली संघका प्रवक्ता सोमनाथ सापकोटाले नेपालको पर्यटन क्षेत्रबारे फैलिएको नकारात्मक सन्देश चिर्न यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । भोटेकोशी विपद्पछि नेपाल असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रियस्तरमा फैलिँदा विदेशी पर्यटकको आगमन प्रभावित भएको उहाँको भनाई छ । नेपालका केही क्षेत्रमा मात्रै बाढीपहिरोका कारण क्षति पुगेको भएपनि समग्र देश नै प्रभावित भएको सन्देश फैलिएपनि त्यसलाई चिर्न पर्यटन प्रवद्र्धनको कार्यक्रम संचालन गरिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार केही ट्रेकिङ मार्गबाहेक अधिकांश पर्यटकीय गन्तव्य सञ्चालनमा रहेको छ । नेपाल भ्रमणका लागि उपयुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पु¥याउन कार्यक्रमले सहयोग गर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भोटेकोशीको बाढीपछि विश्वका विभिन्न देशबाट नेपालमा आउने पर्यटकहरूले आफ्नो नेपाल आउने कार्यक्रमलाई क्यान्सिल गर्ने गरेका कारण नेपालमा अहिले पर्यटकको संख्या कम भएको छ । गैरआवासीय नेपाली संघ र समृद्ध चितवनको संयुक्त पहलमा हामीले विशेषगरी भारतीय पर्यटकको आगमन बढाउन यो कार्यक्रमको आयोजना गरेका हौँ । छिमेकी देश अत्यन्तै संसारमा सबैभन्दा धेरै जनसंख्या भएको देश हो, ३ करोडभन्दा बढी भारतीयहरूले थर्ड कन्ट्री भिजिट गरेको रेकर्डले देखाउँछ । गत वर्षको रेकर्ड हेर्ने हो भने करिब ३ लाख भारतीयहरूले नेपाल भिजिट गर्नुभएको छ । यति ठुलो सम्भावना हुँदाहुँदै हामीले किन भारतीय पर्यटकहरूलाई नेपालमा भित्र्याउन सकेनौँ र विश्वमा एउटा विशेष खालको सन्देश दिन सकियोस् नेपाल सुरक्षित छ, घुम्नका लागि उपयुक्त छ । फ्लड सबैतिर होइन, केही जिल्लामा मात्रै समस्या भएको हो भन्ने म्यासेज दिनका लागि हामीले भारतीय पर्यटन व्यवसायीलाई बोलाएका हौँ । अहिले नेपालमा केही ट्रेकिङ रुटबाहेक अरू सबै सञ्चालनमा छन् । यद्यपि म्यासेज जाँदा खेरि नेपालमा नेपालभरि नै फ्लड भएको हो भन्ने खालको म्यासेज गएको छ । त्यसैले यो कार्यक्रमको उद्देश्य भनेकै त्यो चाहीँ होइन, कुनै ठाउँमा त्यो समस्या थियो, सडकमा समस्या थियो, पुलहरू क्षति भएका थिए, यद्यपि त्यो ठाउँमा एबीसीमा पनि जान सकिने सम्भावना छ । नेपालमा त्यो खालको पर्यटकीय हिसाबले हामी चाहिँ अप्ठ्यारोमा छैनौँ ।’

कार्यक्रममा विशेषगरी बुद्ध सर्किट, थारू संस्कृति, जंगल सफारी तथा अमलटारी क्षेत्रका पर्यटकीय सुविधा र होटललाई प्रवद्र्धन गरिने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा भारतीय पर्यटकलाई लुम्बिनी तथा चितवनबाट पोखरा र काठमाडौंसम्म सहज रूपमा जोड्ने सम्भावनाबारे पनि पर्यटन व्यवसायीबीच छलफल गरिनेछ । सापकोटाकाअनुसार गत वर्ष करिब तीन लाख भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । भारतबाट ठूलो संख्यामा पर्यटक तेस्रो मुलुक भ्रमणमा जाने भएपनि नेपालले त्यसको सम्भावनाअनुसार पर्यटक आकर्षित गर्न नसकेको उहाँको भनाई छ । कार्यक्रममार्फत लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै नेपाल र भारतका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ । नेपाललाई सुरक्षित र स्वागतका लागि तयार गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कार्यक्रमले सहयोग पु¥याउने आयोजकको अपेक्षा छ । कार्यक्रमका लागी नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन नेपाल (हान) र पाटालगायतका संस्थाले सहयोग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>