Breaking News
सर्बियामा विद्यार्थी आन्दोलनले राष्ट्रपति भुसिचलाई कडा चुनौती, चुनावी प्रतिस्पर्धा रोचक बन्दै

बेलग्रेड,कात्तिक ७ –
सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा लामो समयदेखि शक्तिमा रहेका अलेक्जान्डर भुसिचलाई कडा चुनौती दिएको छ । आइतबार हुने निर्वाचनमा भुसिचको सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) र विद्यार्थी आन्दोलनबाट उदाएको विपक्षी ‘स्टुडेन्ट लिस्ट’ बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
बिबिसिका अनुसार सन् २०१२ देखि सर्बियाको सत्ता राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएका भुसिचका लागि विद्यार्थी आन्दोलन अहिलेसम्मकै गम्भीर चुनौती बनेको छ । उपप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्मको जिम्मेवारी सम्हालिसकेका भुसिचले गत महिना आकस्मिक निर्वाचन घोषणा गर्दै प्रधानमन्त्री पदमा फर्कने उद्देश्यले राष्ट्रपतिबाट राजीनामा दिएका थिए ।
‘स्टुडेन्ट लिस्ट’ झन्डै दुई वर्षदेखि जारी भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्मिएको हो । सन् २०२४ मा सर्बियाको दोस्रो ठुलो सहर नोभी सादस्थित रेलवे स्टेसनको छाना खस्दा १६ जनाको मृत्यु भएपछि युवाहरूले सरकारविरुद्ध आन्दोलन चर्काएका थिए । उक्त स्टेसनको पुनर्निर्माण भुसिचको प्रमुख पूर्वाधार परियोजनाअन्तर्गत गरिएको थियो । त्यसैले दुर्घटनाको जिम्मेवारीबाट पन्छिन उनलाई कठिन भएको विश्लेषकहरूको भनाइ छ ।
विद्यार्थीहरूले निर्वाचनमा आफैँ उम्मेदवार बन्नुको सट्टा देशका विश्वविद्यालयका विभिन्न संकायमा भएका सभामार्फत २५० जना उम्मेदवार छनोट गरेका छन् । नोभी साद विश्वविद्यालयका प्राध्यापक तथा हृदयरोग विशेषज्ञ इलिया सर्दानोभिच उक्त सूचीको पहिलो उम्मेदवार छन् ।
तर उनी आन्दोलनका औपचारिक नेता होइनन् । विद्यार्थी आन्दोलनले कुनै एक व्यक्तिलाई नेतृत्व नदिई सामूहिक निर्णय र नेतृत्वको अवधारणा अघि सारेको छ ।
‘आफ्ना विद्यार्थीहरूको न्यायपूर्ण संघर्षमा साथ दिनु बिल्कुल स्वाभाविक हो,’ सर्दानोभिच भन्छन् । विद्यार्थीहरूले प्राध्यापक, खेलाडी, अर्थशास्त्री, इन्जिनियरलगायत विभिन्न क्षेत्रका व्यक्तिलाई उम्मेदवार बनाएका छन् । उनीहरूमध्ये कसैको पनि स्थापित राजनीतिक पृष्ठभूमि छैन । आन्दोलनमा सहभागी विद्यार्थीहरूले यसलाई कमजोरी नभई सबल पक्षका रूपमा प्रस्तुत गरेका छन् ।
नोभी साद विश्वविद्यालयकी एक विद्यार्थी अलेक्जान्ड्राका अनुसार उनीहरूले आ–आफ्नो क्षेत्रमा दक्ष व्यक्तिहरूलाई छनोट गरेका छन् । अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुने र नागरिकले असुरक्षित महसुस नगरी जीवन बिताउन पाउने देश निर्माण गर्नु आन्दोलनको साझा लक्ष्य रहेको उनले बताइन् ।
विद्यार्थी आन्दोलन र यसका समर्थकहरूले भुसिचको पार्टीले राज्यका संस्थाहरू तथा सञ्चारमाध्यममा अत्यधिक प्रभाव जमाएको आरोप लगाएका छन् । सन् २०२३ को संसदीय निर्वाचनबारे अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण मिसनले पनि सञ्चारमाध्यमको पक्षपात र सरकारी पद तथा स्रोतसाधनको दुरुपयोगका कारण सत्तारूढ दललाई ठुलो लाभ पुगेको उल्लेख गरेको थियो ।
भुसिच भने विद्यार्थी आन्दोलन विदेशी शक्तिबाट सञ्चालित भएको र यसले राज्यलाई कमजोर बनाउन खोजेको आरोप लगाउँछन् । अन्तिम चुनावी सभामा उनले समर्थकहरूलाई देशको रक्षा गर्न आह्वान गरेका थिए ।
भुसिचको समर्थनमा पनि उल्लेख्य जनमत छ । उनका समर्थकहरूले उनलाई देशको हितमा अडान लिने बलियो नेताका रूपमा हेर्छन् । पछिल्लो दशकमा भएको आर्थिक वृद्धि र पूर्वाधार विकासलाई पनि उनले आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएका छन् ।
तर रेलवे स्टेसन दुर्घटनापछि सुरु भएको आन्दोलनले सरकारमाथि दबाब बढाएको छ । आन्दोलनकारीहरूले भ्रष्टाचार र सरकारी लापरबाहीका कारण मानिसहरूको ज्यान गएको आरोप लगाउँदै आएका छन् ।
पूर्वी युरोप मामिलाका विश्लेषक मग्दा अनास्तासियेभिचका अनुसार विगतमा भुसिचले समस्याको जिम्मेवारी अरूमाथि थोपरेर राजनीतिक संकट पार गर्दै आएका थिए । तर नोभी सादको दुर्घटनामा त्यसो गर्न उनलाई कठिन भएको छ ।
यसैबिच, सर्बियाको विदेश नीतिसमेत निर्वाचनको महत्त्वपूर्ण मुद्दा बनेको छ । सर्बिया युरोपेली संघ ९ईयू० को सदस्यताका लागि वार्ता गरिरहेको छ । तर उसले रुस र चीनसँग पनि निकट सम्बन्ध कायम राखेको छ । दुवै देशले सर्बियाबाट अलग भएको कोसोभोको स्वतन्त्रतालाई मान्यता दिएका छैनन् ।
विद्यार्थी सूची सत्तामा आएमा रुससँगको सम्बन्ध प्रभावित हुन सक्ने भुसिचले चेतावनी दिएका छन् । उनले विद्यार्थी आन्दोलनले रुसमाथि प्रतिबन्ध लगाउने विषयमा स्पष्ट धारणा नदिएको आरोपसमेत लगाएका छन् ।
निर्वाचनपूर्वका अन्तिम सभाहरूमा दुवै पक्षले आफ्नो शक्ति प्रदर्शन गरेका छन् । भुसिचको पार्टीले बेलग्रेड एरिनामा सभा गरेको थियो, जहाँ भुसिच एक्लैले सम्बोधन गरेका थिए । अर्कोतर्फ, विद्यार्थी सूचीको अन्तिम सभामा बेलग्रेडको स्लाभिया स्क्वायरमा करिब एक लाख ५० हजार मानिस सहभागी भएको रिपोर्ट गरिएको छ ।
सर्बियामा विश्वसनीय चुनावी सर्वेक्षणको अभाव रहेकाले परिणामबारे निश्चित अनुमान गर्न कठिन छ । यद्यपि विश्लेषकहरूले निर्वाचनमा निकै कडा प्रतिस्पर्धा हुने आकलन गरेका छन् । यस निर्वाचनले सर्बियाका मतदातासामु दुई फरक राजनीतिक शैलीबीच छनोट गर्ने अवसर दिएको छः एकातिर लामो समयदेखि शक्तिमा रहेका भुसिचको व्यक्तिगत नेतृत्व र अर्कोतिर सामूहिक नेतृत्वको अवधारणा अघि सारिरहेको विद्यार्थी आन्दोलन । यसको परिणामले सर्बियाको आन्तरिक राजनीति र विदेश नीतिको भावी दिशा निर्धारण गर्न सक्छ । एजेन्सी























