समाचार

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवा अझै बन्द

०
Banner

काठमाडौं,कात्तिक ७-

अस्ति बिहीबारदेखि बन्द भएका सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेका छैनन् ।

विश्वभर वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला परेपछि विश्वका अरू देशमा जस्तै नेपालका सरकारी निकायका वेबसाइट र अनलाइन सेवामा समेत यसको असर परेको हो । जोखिम पत्ता लागेसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्रले अत्यन्त जरुरी सुरक्षा एड्भाइजरी जारी गर्दै प्रणालीहरू तत्काल अपग्रेड गर्न र जोखिम व्यवस्थापन नभएसम्म सावधानी अपनाउन आग्रह गरेको थियो ।

केन्द्रको एड्भाइजरीलगत्तै अस्ति बिहीबारदेखि नै धेरैजसो सरकारी तथा सार्वजनिक निकायका वेबसाइटहरू अस्थायी रूपमा बन्द गरिएका छन् । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले समस्या समाधानको प्रयास भइरहेको जनाएको छ । भोलिसम्म सार्वजनिक बिदा भएकाले वेबसाइटहरू बन्द हुँदा ठूलो असर परिसकेको छैन । तर समस्या लम्बिएमा लाइसेन्स, राहदानी, राजस्व तथा नागरिक सेवासँग सम्बन्धित अनलाइन सेवा अवरुद्ध हुने जोखिम छ । अहिले धेरै सरकारी तथा गैर सरकारी संस्थाहरूका वेबसाइटहरू खुलेका छैनन् ।

नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्रयाकिङ प्रणाली (भीटीएस) लगायतxका प्रमुख सरकारी र वित्तीय निकायका वेबसाइटहरू बन्द छन् । सुरक्षा प्रणाली सुदृढ बनाउन र सम्भावित जोखिमबाट बचाउनका लागि भन्दै वेबसाइटहरू अस्थायी रूपमा बन्द गरिएका हुन् । नेपाल राष्ट्र बैंकले सबै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक (पीएसपी) र वालेट कम्पनीहरू तथा रेमिट्यान्स कम्पनीहरूलाई तत्काल सतर्क रहन निर्देशन दिएको छ ।

बैंकहरुका वेबसाइट बन्द भए पनि क्युआर भुक्तानी र मोबाइल बैंकिङलगायत सेवा सञ्चालनमा छन् । जोखिमको अवस्था मूल्याङ्कन गरेर केही बैंकले आफ्ना वेबसाइट पुनः सञ्चालनमा ल्याइसकेका छन् । वेबसाइट बन्द हुँदा ग्राहकले ब्याजदर, सेवा शुल्क, शाखा तथा एटीएमको विवरण, कर्जा योजना र वित्तीय विवरणजस्ता सार्वजनिक सूचना प्राप्त गर्न भने असहज भएको छ । संक्रमणकालीन समयमा आउन सक्ने शंकास्पद म्यासेज र लिङ्कहरूबाट सतर्क रहन साइबर सुरक्षा विज्ञहरूले सुझाव दिएका छन् ।

पीएचपी मुख्यतया वेबसाइट र वेब एप्लिकेसनहरू निर्माण गर्न प्रयोग गरिने एक प्रोग्रामिङ भाषा हो । यही प्रणालीमा समस्या आएको र यसको अपग्रेडका लागि सूचना जारी भएकाले सरकारी तथा सार्वजनिक निकायका वेबसाइटहरू बन्द भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>