चितवन विशेष
नारायणगढमा कात्तिक १४ गते राइनो दौड प्रतियोगिता हुने

चितवन, असोज ३१-
नारायणगढमा राइनो दौड प्रतियोगिता हुने भएको छ । राइनो क्लब नारायणगढले स्वास्थ्य र खेलकुदको प्रवद्र्धन तथा युवालाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले आगामी कात्र्तिक १४ गते पाँच किलोमिटर दूरीको दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिता कात्तिक १४ गते बिहान ८ बजे सुरु हुनेछ । गैंडाकोटको जयश्री पुलबाट सुरु हुने दौड नारायणगढको लिलाचोकमा पुगेर समापन हुने कार्यक्रम संयोजक महेश प्रधानले जानकारी दिए ।
प्रतियोगितामा १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । सहभागी हुन दुई सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेतालाई ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।क्लबद्धारा निर्धारित ३० मिनेटभित्र ५ किलोमिटरको दौड पुरा गर्ने ५० वर्षमाथिका भेट्रानहरुलाई मायाको चिनो र प्रमाणपत्र समेत प्रदान जनाइएको छ ।
प्रतियोगितामा सहभागी खेलाडीको सुरक्षाका लागि एम्बुलेन्स, प्राथमिक उपचार र स्वयंसेवकको व्यवस्था गरिने कार्यक्रम सहसंयोजक रोहित कुमार श्रेष्ठले जानकारी दिए । दौड मार्गमा यातायात व्यवस्थापनका लागि सम्बन्धित प्रहरी तथा स्थानीय निकायसँग समन्वय गरिने जानकारी दिएको छ । कार्यक्रममा सहभागि हुनका लागि कात्र्तिक १ गतेदेखि १२ गते बेलुका ४ बजेसम्म नाम दर्ताका लागि समय तोकिएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले नारायणगढको श्रीया कोल्ड स्टोर, क्षेत्रपुरस्थित राइनो फिटनेस सेन्टर र लायन्सचोकस्थित शुभ पेट्रोलपम्पबाट दर्ता गर्न सक्ने आयोजकले जनाएको छ ।
राइनो क्लबले नारायणगढ क्षेत्रमा लामो समयदेखि खेलकुद तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । क्लबले युवामा अनुशासन, स्वास्थ्य र खेलकुदप्रतिको भावना विकास गर्नुका साथै सामाजिक सद्भाव कायम गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएको छ ।























