चितवन विशेष

चाडपर्व लक्षित चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना

०
Banner

चितवन, असोज २४–

दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रुको चाप बढ्ने र सवारी दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा गराउने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा केन्द्रीय बस टर्मिनल, नारायणगढ–पोखरा बसपार्क, नारायणगढको पुलचोकस्थित पिकअप तथा ड्रप गर्ने स्थान, मुग्लिन, चनौली, टाँडी, खैरहनी र लोथरमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले जानकारी दिए । यात्रु सहायता कक्षको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समुद्घाटन गरेका हुन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चाडपर्वको समयमा यात्रुको सुरक्षा र सवारी व्यवस्थापनलाई प्राथमिकतामा राखेर मन्तव्य व्यक्त गरेका थिए ।

चाडपर्वका बेला अन्य समयको तुलनामा सडकमा सवारीसाधन तथा यात्रुको चाप बढ्ने भएकाले दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिने गर्दछ । यसलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सवारी आवागमनलाई व्यवस्थित बनाउन तथा यात्रुको सुरक्षालाई सुनिश्चित गर्न विशेष सतर्कता अपनाएको छ ।

यस वर्ष लगातार बाढीपहिरो जाने क्रम बढिरहेको र प्रतिकूल मौसमका कारण सडक यात्रा थप जोखिमपूर्ण बन्न सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सुरक्षित रूपमा सवारीसाधन सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ । यात्रु सहायता कक्षमार्फत यात्राका क्रममा देखिने समस्या, गुनासा तथा सुरक्षासम्बन्धी विषयमा यात्रुलाई आवश्यक सहजीकरण गरिने अपेक्षा गरिएको छ ।

‘सुरक्षित यात्रा, सुखद पर्वः ट्राफिक नियमको पालना गरौँ, गर्व गरौँ’ भन्ने सन्देशसहित स्थापना गरिएका यात्रु सहायता कक्षले चाडपर्वको समयमा यात्रुलाई सुरक्षित यात्रा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । प्रहरीले चाडपर्वलाई उल्लासमय र सुरक्षित बनाउन यात्रु, चालक तथा यातायात व्यवसायी सबैलाई जिम्मेवार बन्न र ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>