देश/प्रदेश
घर भाडामा लिएर सुन प्रशोधन र तस्करीः २१ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, असोज २३ –
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालस्थित एक घरबाट २१ किलोभन्दा बढी सुन बरामद गरेको छ ।
अवैध रूपमा सुन प्रशोधन तथा कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले सञ्चालन गरेको ‘अपरेसन ब्राभो गल्फ’ अन्तर्गत तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सन्तोष खड्काले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हान फेई, झाउ लोङक्विन र वाङ जियाङजेन रहेका छन् । उनीहरूले भाडामा लिएको घरमा सुन प्रशोधन गर्ने उपकरण राखेर अवैध कारोबार सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले बताए ।
प्रहरीले बरामद गरेको सुनको कुल तौल प्लास्टिकसहित २१ किलो ७५०।६८ ग्राम रहेको छ । नेपाल सुनचाँदी तथा रत्न तथा आभूषण महासंघबाट परीक्षण गराउँदा सुनका बिस्कुट आकारका ढिक्का र लेसिलो अर्धतयारी अवस्थामा रहेको पहेँलो धातु फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद सुनको मूल्य घटनाको दिनको बजार मूल्यअनुसार ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको छ ।
एसएसपी खड्काका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले भाडामा लिएको घरमा अर्धतयारी अवस्थामा रहेको सुनलाई प्रशोधन गरी विभिन्न आकारका ढिक्का बनाउने गरेका थिए । प्रहरीले सुन पगाल्ने, आकार दिने, सुकाउने तथा सफा गर्ने मेसिनसहित विभिन्न उपकरण बरामद गरेको छ ।
त्यस्तै, सुन तौलने तराजु, सुन ओसारपसारमा प्रयोग भएको बिवाइडी एट्टो ३ गाडी, नेपाली तथा चिनियाँ मुद्रा, राहदानी, विभिन्न बैंकका एटीएम कार्ड, सिमकार्ड र मोबाइल फोनलगायत सामग्री पनि बरामद गरिएको छ ।
प्रहरीले उक्त घरबाट बरामद गरेको सुनमध्ये दुई टुक्रा गाडीमा राखिएको अवस्थामा फेला परेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू बिहान करिब ५ः५५ बजे घरबाट गाडी निकालेर जान खोज्दा निगरानीमा खटिएको प्रहरी टोलीले रोकेको थियो । त्यसपछि थप प्रहरी टोली पुगेर स्थानीय जनप्रतिनिधि तथा छिमेकीको रोहवरमा खानतलासी गर्दा सुन र प्रशोधनका सामग्री फेला परेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त कारोबारको मुख्य योजनाकार चीनको ग्वाङ्झाउमा बस्ने जेन जियाल रहेको खुलेको छ । पक्राउ परेका चिनियाँ नागरिकहरूले जेनकै निर्देशनमा सुन प्रशोधन तथा ओसारपसार गर्ने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सु ख्यान नामका चिनियाँ नागरिकले मासिक तीन लाख ३० हजार रुपैयाँ भाडा तिर्नेगरी उक्त घर चार महिनाका लागि भाडामा लिएका थिए ।
उनले २४ जुलाई २०२६ मा घरधनीसँग सम्झौता गरी १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको खड्काले बताए ।
सु ख्यान चीन फर्किएपछि घरको साँचो जेन जियाललाई दिएको र जेनले हान फेई तथा झाउ लोङक्विनलाई साँचो दिएर नेपाल पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।
प्रहरीका अनुसार हान फेई र झाउ लोङक्विन २७ सेप्टेम्बर २०२६ मा नेपाल आएका थिए भने सु ख्यान १ अक्टोबर २०२६ मा नेपाल आएको अभिलेखबाट पुष्टि भएको छ । सु ख्यान हाल नेपालमा नरहेको प्रहरीले जनाएको छ ।
हान फेईले यसअघि पनि परिवारसहित नेपाल आएर सुनको बजार तथा मूल्यबारे जानकारी लिएको र त्यसपछि चीन फर्किएको अनुसन्धानबाट खुलेको खड्काले बताए ।
प्रहरीका अनुसार हान फेईले नेपाल आएपछि विमानस्थलस्थित गाडी भाडा सेवाबाट बिवाइडी एट्टो ३ गाडी भाडामा लिएका थिए । उनले उक्त गाडी प्रतिदिन आठ हजार रुपैयाँका दरले भाडामा लिएको प्रहरीले जनाएको छ ।
गाडीमा राखिएको सुन कतै पुर्याउन लैजान खोजिएको हुन सक्ने प्रहरीको अनुमान छ । तर सुन कहाँ पुर्याउन लागिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी खड्काले बताए ।
उनका अनुसार पक्राउ परेका व्यक्तिहरूले सुन कहाँबाट ल्याइएको थियो, कसलाई पुर्याउने गरिएको थियो र कारोबारमा अरू को–को संलग्न थिए भन्नेबारे स्पष्ट जानकारी दिएका छैनन् ।
प्रहरीले बरामद गरेको सुनको केही भाग लेसिलो तथा अर्धठोस अवस्थामा रहेको थियो । यस्तो अवस्थामा सुनलाई विभिन्न आकारमा ढाल्न र लुकाउन सहज हुने भएकाले सोही विधि अपनाइएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
एसएसपी खड्काका अनुसार अर्धतयारी अवस्थामा रहेको सुनलाई घरमा ल्याएर तताउने, पगाल्ने र मोल्डिङ मेसिनबाट विभिन्न आकारमा ढाल्ने गरिएको थियो ।
प्रहरीले सुन हवाई मार्ग, स्थलमार्ग वा अन्य माध्यमबाट नेपाल भित्र्याइएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । सुनको वास्तविक स्रोत र यसको बजारबारे पनि अनुसन्धान भइरहेको खड्काले बताए ।
प्रहरीले हालसम्मको अनुसन्धानमा उक्त कारोबारमा नेपाली नागरिकको संलग्नता पुष्टि नभएको जनाएको छ । सुन ओसारपसारमा प्रयोग भएको गाडी पनि विमानस्थलको भाडा सेवाबाट लिइएको पाइएको प्रहरीले जनाएको छ ।
एसएसपी खड्काका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूबीचको सम्पर्क तथा कारोबारसम्बन्धी निर्देशनहरू चिनियाँ सामाजिक सञ्जाल विच्याटमार्फत आदानप्रदान हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले सुनको आपूर्ति शृङ्खला, कारोबारको सञ्जाल र मुख्य योजनाकारसँग सम्बन्धित थप प्रमाण जुटाउन प्राविधिक अनुसन्धान गरिरहेको जनाएको छ । विच्याटमार्फत भएका संवादको अनुसन्धानका लागि सम्बन्धित पक्षसँग सहयोग मागिएको पनि खड्काले बताए ।
यद्यपि, सुन नेपालमा कसरी भित्रिएको थियो र यसको कारोबारमा थप को–को संलग्न थिए भन्ने विषयमा अनुसन्धान जारी छ । प्रहरीले अनुसन्धानबाट थप तथ्य खुलेपछि सार्वजनिक गर्ने जनाएको छ ।
























