चितवन विशेष

तनविरको प्रशिक्षणमा चितवन राइनोज

०
Banner

चितवन,असोज २१-

नेपाल प्रिमियर लिग (एनपीएल)को लगातार दुवै संस्करणमा औसत प्रदर्शन गर्दै आएको टोली हो चितवन राइनोज। पहिलो संस्करण एलिमिनेटरमा कर्णाली याक्ससँग २१ रनले पराजित भएको चितवनले दोस्रो सिजन भने सातौँ स्थानमा रहेर एनपीएल यात्रा सकाएको थियो।

यो पटक मैदान उत्रिँदा चितवन फरक रणनीतिमा मैदानमा उत्रिने तयारीमा छ। यसअघि खेलाडीका रुपमा मैदानमा देखिएका सोहेल तनविर यो पटक प्रशिक्षकको भूमिकामा देखिनेछन्। उनले लगातार २ सिजन चितवनबाट खेलेका थिए। पाकिस्तानका पूर्वखेलाडी उनलाई चितवनले यो पटक प्रशिक्षक बनाएको हो।

पहिलो सिजन ८ खेलमा १४ विकेट लिएका तनविरले दोस्रो सिजन भने ५ खेलमा ८ विकेट लिएका थिए। २ सिजन शान्त र प्रभावशाली खेलाडीका रुपमा देखिएका अनुभवी तनविरले प्रशिक्षकका रुपमा कस्तो रणनीतिमा चितवनलाई उतार्नेछन् भन्नेमा धेरै समर्थक उत्साही छन्। चितवनले यो सिजन जिम्बाब्वेका सिकन्दर राजा र क्यानडाका तीव्र गतिका बलर कलीम सानालाई अनुबन्ध गरिसकेको छ।

फ्रेन्चाइज क्रिकेटका अनुभवी सिकन्दर राजा बलिङ र ब्याटिङ दुवै माध्यमबाट खेल बदल्न सक्ने विशेष क्षमता राख्छन्। सानालाई अनुबन्ध गरेपछि ब्याटिङ लाइनअपमा टोली थप बलियो बनेको छ। तेस्रो सिजनका लागि चितवनले ट्यालेन्ट हन्ट सकाएर हेटौँडामा प्रशिक्षण सुरु गरेको छ। ट्यालेन्ट हन्टबाट चितवनले पाँच खेलाडी छनोट गरेको छ।

६ जना विदेशी खेलाडी राख्ने योजनामा रहेको चितवनले टोलीका लागि आवश्यक खेलाडी खोजी गरिरहेको छ। अमेरिका, दक्षिण अफ्रिका, युरोपियन र भारतीय खेलाडीको खोजी गरिरहेको चितवनका महाप्रबन्धक सरोज लम्सालले बताए। उनले भने, ‘टोलीको आवश्यकताअनुसार खेलाडी खोजिरहेका छौँ, अहिलेसम्म ठूलो नामको रुपमा सिकन्दर राजालाई भित्र्याएका छौँ।’

तेस्रो सिजनका लागि चितवनले मार्की खेलाडी कुशल मल्लसहित देव खनाल, कमल सिंह ऐरी, अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार र दिपक बोहोरालाई रिटेन गरेको थियो। अक्सनबाट चितवनले क्याटोगोरी ए का विवेक कुमार यादव, क्याटोगोरी सी का अशोक धामी, विपिन रावल, मौसम ढकाल, गौतम केसी र सलउद्दीन खानलाई खरिद गरेको थियो। चितवनले आगामी कात्तिक १० गते विराटनगर किंग्ससँग खेल्दै एनपीएलको सुरुवात गर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>