चितवन विशेष
अवैध पोल्ट्रीजन्य वस्तु आयात नियन्त्रण गर्न सीमा नाकामा अनुगमन र भेटघाटमा पोल्ट्री व्यवसायी

चितवन,असोज २१-
भारतीय सीमा नाकाबाट अवैध रूपमा आयात हुने चल्ला, कुखुरा, मासु तथा अण्डा नियन्त्रण गर्न नेपाल ह्याचरी उद्योग संघले सीमा नाकासँग जोडिएका जिल्लामा अनुगमन तथा सुरक्षा निकायसँगको भेटघाटलाई तीव्रता दिएको छ। अभियानअन्तर्गत नवलपरासी र रुपन्देहीबाट सुरु भएको अनुगमन तथा सुरक्षा निकायसँगको भेटघाट क्रमशः बाँकेसम्म पुगेको हो। संघको टोलीले आज सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी, बाँके नेपालगञ्जका प्रमुख तथा बीओपी खडैचाका प्रमुखसँग भेटघाट गरेको छ।
नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको नेतृत्वमा उपाध्यक्ष ज्ञानबहादुर बिसुराल, कोषाध्यक्ष परशुराम अधिकारी, सचिव विवेक भट्ट र सदस्य हरिकृष्ण खनालसहितको प्रतिनिधिमण्डलले सुरक्षा अधिकारीसँग भेट गरी भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुको आयात नियन्त्रणका विषयमा छलफल गरेको हो। भेटका क्रममा सशस्त्र प्रहरीका अधिकारीहरूले अवैध आयात नियन्त्रणका लागि आवश्यक निगरानी तथा सुरक्षा कारबाहीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेको संघले जनाएको छ।
संघका उपाध्यक्ष ज्ञानबहादुर बिसुरालका अनुसार बाँकेमा भएको आजको भेटघाट अभियानका क्रममा महत्वपूर्ण रहेको छ। उनका अनुसार प्रतिनिधिमण्डलले आजै दाङ जिल्लाका पोल्ट्री व्यवसायीसँग बैठक गर्ने तथा कपिलवस्तुमा प्रहरी नायव उपरीक्षकसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ।
नेपालको पोल्ट्री व्यवसायमा भारतीय सीमा नाकाबाट हुने अवैध रूपमा आयात हुने चल्ला, कुखुरा, मासु तथा अण्डा प्रमुख चुनौतीका रूपमा रहेको संघको भनाइ छ। अवैध आयातका कारण नेपालमा पशुपन्छीजन्य रोगको जोखिम बढ्नुका साथै स्वदेशी पोल्ट्री व्यवसायमा असर पर्ने र राज्यको राजस्वसमेत चुहावट हुने संघले जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय प्रशासन तथा पोल्ट्री व्यवसायीबीच समन्वय र सहकार्य आवश्यक रहेको संघले जनाएको छ। संघले सीमा नाकामा निगरानी बढाउँदै अवैध आयात नियन्त्रणका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने बताएको छ।
























