Breaking News
सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

भरतपुर, असोज २१-
कानुनमन्त्री सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र परेको माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान गरिएको छ । गौतम चितवन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद समेत हुन् ।
हुलाकी राजमार्ग निर्देशनालय, आयोजना कार्यालय वीरगञ्जले माडी नगरपालिका–७ मा पर्ने पतरे खोला पुलको बाँकी काम गर्न आज (बुधबार) ठेक्का आह्वान गरेको हो ।
गएको असारमा भौतिक पुर्वाधार मन्त्री सहितको उपस्थितीमा कानुनमन्त्री गौतमले पुलको अनुगमन गरेकी थिइन् । ‘पुलको अवस्था र कार्यप्रगतीको अवस्था स्वयं देखे पछी ठेक्का तोड्न निर्देशन दिइएको र नयाँ तवरले कार्य प्रारम्भ गरिएको थियो’, मन्त्री गौतमले लेखेकी छन् ।
पुल निर्माणका लागि यसअघि लोहोनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनसँग २०७४ साउन ११ गते पहिलो पटक सम्झौता भएको थियो । पटक–पटक म्याद थप हुँदा पनि निर्माण कार्य अगाडि बढ्न नसकेपछि ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गरिएको हो ।
सुरुमा पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग तीन करोड ८४ लाख २५ हजार ४६१ रुपैयाँमा सम्झौता भएको थियो ।























