Breaking News

बाढीका कारण नारायणी नदी पुल निर्माण स्थलमा डेढ करोडको क्षति, दशैँपछि पुनः काम थालिने

०
Banner

भरतपुर, असोज १९-

नारायण नदीमा निर्माणाधीन सिग्नेचर पुलमा हालै आएको बाढीले क्षति पुर्‍याएको छ। तुँदी कन्स्ट्रक्शनले निर्माण गरिरहेको यस बहुप्रतिक्षित परियोजनाको भौतिक प्रगतिमा बाढीले केही असर पारे पनि निर्धारित समयमै काम सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको छ।

परियोजनाका प्रोजेक्ट म्यानेजर मञ्जिल मिश्रका अनुसार नदीमा आएको बाढीले निर्माण स्थलको तटबन्ध (इम्ब्याङ्कमेट) बगाएको छ। यस्तै, पीवान पाइलनको लागि भरतपुरतर्फ तयार पारिएको प्लेटफर्म पनि बाढीले बगाएर लगेको छ।

गैँडाकोटतर्फ नदी किनारबाट करिब डेढ सय मिटरभित्र रहेका निर्माण प्लान्ट, ब्याचिङ प्लान्ट, स्टक यार्ड, स्टाफ क्वार्टर र लेबर क्याम्पलगायतका संरचनाहरू डुबानमा परे। सुरक्षित स्थानमा सार्न मिल्ने सामानहरू हटाइए पनि स्थायी रूपमा स्थापित प्लान्ट र क्याम्पहरू हटाउन कठिन भएको निर्माण पक्षले जनाएको छ।

कर्णालीको पुलको ढाँचामा बन्न लागेको यो नेपालकै दोस्रो ‘आइकनिक’ वा सिग्नेचर ब्रिज हो। यस महत्त्वपूर्ण आयोजनाको कुल लागत १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।

डिजाइन स्वीकृतिमा ढिलाइ भएका कारण सुरुमा केही समय प्रभावित बनेको यस परियोजनाको काम अब ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। हाल यस आयोजनाको भौतिक प्रगति करिब ४ प्रतिशत र वित्तीय प्रगति करिब ८ प्रतिशत रहेको छ।

बाढीबाट भएको क्षतिको पूर्वप्रारम्भिक प्रतिवेदन आइसकेको र सम्बद्ध निकायहरूको सहयोग लिँदै अब दशैँपछि निर्माण कार्यलाई थप तीव्रता दिइने प्रोजेक्ट म्यानेजर मिश्रले जानकारी दिएका छन्। बाटो तथा आवश्यक एक्सेस रोडहरूको पुनः निर्माण कार्य अहिले अघि बढाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>