देश/प्रदेश
स्वास्थ्य बीमा बोर्डका करार कर्मचारीले गरे पेन डाउन

काठमाडौं, असोज १६-
सेवा–सुविधासम्बन्धी माग सम्बोधन नभएको भन्दै स्वास्थ्य बीमा बोर्डमा करार सेवामा कार्यरत कर्मचारीहरूले बिहीबारदेखि पेन डाउन आन्दोलन सुरु गरेका छन्।
उनीहरूले बिहीबार ४ बजेदेखि पेन डाउन गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने घोषणा गरेका छन्। उनीहरूले बुधबार बोर्डसमक्ष ज्ञापनपत्र बुझाउँदै २४ घण्टाभित्र माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका थिए।
तर तोकिएको समयसीमामा बोर्ड व्यवस्थापनबाट माग सम्बोधनका लागि पहल नभएको भन्दै कर्मचारीहरूले थप आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य भएको बताएका छन्। उनीहरूले बिहीबार अपराह्न ४ बजेदेखि माग सम्बोधन नभएसम्म स्वास्थ्य बीमा बोर्डका देशभरका कार्यालयमा पेन डाउन हुने घोषणा गरेका हुन्।
आन्दोलन अवधिमा बोर्डका कुनै पनि कर्मचारीले कार्यालयसँग सम्बन्धित काम नगर्ने जनाइएको छ। कर्मचारीहरूले आन्दोलनका क्रममा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित व्यवस्थापन तथा बोर्डले लिनुपर्ने उल्लेख गरेका छन्।
के–के छन् कर्मचारीका माग ?
कर्मचारीहरूले सर्वोच्च अदालतको आदेश अक्षरशः कार्यान्वयन गरी महँगी भत्ता उपलब्ध गराउन माग गरेका छन्। त्यस्तै, नेपाल सरकारको आर्थिक वर्ष २०८३र८४ को बजेटअनुसार नयाँ तलबमान तथा १० प्रतिशत प्रोत्साहन भत्ता तत्काल लागू गर्नुपर्ने उनीहरूको माग छ।
साउन १ गतेदेखि बाँकी रहेको तलब, महँगी भत्ता, प्रोत्साहन भत्ता, फिल्ड भत्ता, स्थानीय भत्तालगायत अन्य सुविधा यकिन गरी तत्काल भुक्तानी गर्नुपर्ने माग पनि कर्मचारीहरूले अघि सारेका छन्।
बोर्डले स्वीकृत गरेको कार्यविधिअनुसार करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा तथा बिदासम्बन्धी सम्पूर्ण सुविधा लागू गर्नुपर्ने उनीहरूको माग छ। त्यसैगरी, कर्मचारीमाथि हुने दबाब तथा अनुचित व्यवहार तत्काल बन्द गरी सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्नुपर्ने माग कर्मचारीहरूको छ।
























