देश/प्रदेश
सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ, असोज १६ –
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ ।
विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा उहाँले मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुनेगरी व्यवस्था मिलाउन लागिएको बताउनुभयो ।
“अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्”, उहाँले भन्नुभयो, “सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ ।”
सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा एक–दुईवटा आउटलेट भएदेखि राज्यलाई आपत् पर्दा सहज हुने गरी आवश्यक तयारी भएको जानकारी दिनुभयो ।
उहाँले ग्यासको पनि सम्भावित अभावलाई मध्यनजर गर्दै त्यससम्बन्धी प्रबन्ध मिलाउन लागेको बताउनुभयो । रासस

























