चितवन विशेष

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आवास कब्जा र ‘डेट माफिया’को अन्त्य गर्न माग

०
Banner

भरतपुर, असोज १६-

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देखिएका अनियमितता र बेथितिहरूविरुद्ध युवा नेता डा प्रकाश चन्दले कडा आपत्ति जनाउँदै चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन्। अस्पतालको सेवा प्रवाह, आवास कब्जा र विवादित नियुक्ति प्रक्रियामा सुधार नआए कडा संघर्षमा उत्रिने उनको चेतावनी छ।

सामाजिक सञ्जालमार्फत अस्पतालको व्यवस्थापनप्रति कडा आक्रोश पोख्दै उनले अस्पताल सुधारका लागि तीनवटा प्रमुख विषय उठाउँदै तत्काल कदम चाल्न आग्रह गरेका छन्।

अस्पतालका हाकिम तथा उनीहरूका परिवारले अनाधिकृत रूपमा कब्जा गरी, गैरकानूनी रूपमा ओगटेर राखेका क्यान्सर आवासहरू तत्काल खाली गर्न उनले माग गरेका छन् । अटेरी गरेर बसेकाहरूलाई उचित समयमा कडा प्रहार गर्ने उनको चेतावनी छ ।

बिरामीको अप्रेसन, बायोप्सी, सीटी स्क्यान र रेडिएसनको मिति (डेट) अनावश्यक रूपमा लम्ब्याएर गरिब बिरामीलाई निजी क्लिनिक तथा सटरहरूमा धकेल्ने प्रवृत्ति अन्त्य गर्न पनि उनले माग गरेका छन् । यस कार्यमा संलग्न डाक्टर वा कर्मचारी जो भए पनि मिडियामार्फत सार्वजनिक रूपमा नाङ्गो पार्ने चेतावनी दिए ।

अस्पतालमा गरिएका दुई जना विवादास्पद पात्रहरूको नियुक्तिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै, यसले उत्पन्न गर्ने जनआक्रोश र परिणामको सामना गर्न तयार रहन उनले चेतावनी दिए ।

‘यी विषयहरू मेरा व्यक्तिगत विषय होइनन्, यी विषय सडकमा, गल्लीमा, चोकमा आम भुइँमान्छेहरूले सहनुपरेका पीडा, वेदना र जीवनमरणका विषयहरू हुन्। तर, यी विषयहरूको फैसला गर्ने हिम्मत र साहस हामी युवाहरूसँग छ’, उनले लेखेका छन् ।

शक्तिको आडमा गरिब क्यान्सर बिरामी तथा आधारभूत कर्मचारीलाई लुट्ने, ढाट्ने र छक्याउने प्रवृत्ति अब कदापि सह्य नहुने डा चन्दले प्रष्ट पारेका छन्। कसैको दबाब वा धम्कीभन्दा पनि आम नागरिकको पक्षमा आफूहरू खुला रूपमा भिड्न तयार रहेको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>