समाचार
दैनिक करिब ४५० कपभन्दा बढी चिया बिक्री गरी परिवारको गुजारा चलाउँदै देवकोटा दम्पती

कपिलबस्तु, असोज १५ –
दैलेखबाट कपिलवस्तु झर्नुभएका बलराम देवकोटा र उहाँकी श्रीमती बिहानैदेखि तौलिहवा बजारमा चिया बेच्न व्यस्त हुनुहुन्छ । ती देवकोटा दम्पतीले दैनिक करिब ४५० कपभन्दा बढी चिया बिक्री गरी परिवारको गुजारा चलाउँदै आउनुभएको छ ।
दैलेखको दुल्लु नगरपालिका–८ बडालम्जीका स्थायी बासिन्दा देवकोटा रोजगारीका सिलसिलामा विसं २०७७ मा कपिलवस्तु आउनुभएको हो । उहाँले छ वर्षदेखि कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार क्षेत्रमा चिया बिक्री गर्दै आउनुभएको छ ।
देवकोटाले प्रतिकप रु १० मा चिया बिक्री गर्नुहुन्छ । गर्मी होस् वा जाडो, दैनिक करिब ४५० कप चिया बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँको अहिले दैनिक करिब चार हजार पाँचको कारोबार हुने गरेको छ ।
उहाँका दैनिक रुपमा बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म बजार क्षेत्रमा चिया बेच्नुहुन्छ । दिउँसो २ः०० बजेदेखि राति ८ः०० बजेसम्म पुनः चिया बेच्ने उहाँको दैनिकी छ ।
देवकोटाको परिवारमा एक छोरा र एक छोरी छन् । चिया बेचेर हुने आम्दानीले परिवारको दैनिकी सहज रुपमा नै चलाउँदै आएको उहाँले बताउनुभयो । विदेश गएर रोजगारी गर्नुभन्दा स्वदेशकै व्यवसायबाट आफू सन्तुष्ट रहेको देवकोटाको भनाइ छ ।
“जे गर्छु नेपालमै गर्छु । मेहनत गर्नेलाई नेपाल नै विदेश हो”, उहाँले भन्नुभयो । सामान्य लगानी र निरन्तर मेहनतबाट पनि स्वदेशमै गतिले आम्दानी गर्न सकिन्छ भन्ने त्यस क्षेत्रमा उहाँ उदाहरणीय पात्र हुनुहुन्छ । चिया बिक्रीलाई नै निरन्तरता दिँदै परिवारको भविष्य निर्माण गर्ने उहाँको योजना छ । रासस

























