देश/प्रदेश
उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

बनेपा (काभ्रे),असोज १५ –
दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
चाडपर्वका बेला बजारमा हुनसक्ने सम्भावित मूल्यवृद्धि हस्तक्षेप गर्दै उपभोक्तालाई सुलभ दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा चाडपर्वका सामग्री खरिद गर्ने उपभोक्ताको चाप बढेको छ ।
बनेपाको तीनदोबाटोस्थित कर्पोरेशनको वितरण केन्द्रमा सञ्चालित सुपथ मूल्य पसल छठ पर्वसम्म सञ्चालन हुनेछ । शनिबारसहित हप्ताको सातैदिन बिहान ९ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म पसल खुला रहनेछ ।
साल्ट ट्रेडिङ कर्पोरेशन बनेपा शाखाका कार्यालय प्रमुख सुरेन्द्र अवालेका अनुसार विशेष मूल्यसूची निर्धारण गरिएको छ । पसलमा नुनको मूल्य रु २४ र प्रतिकेजी चिनीको मूल्य रु १०० तोकिएको छ ।
त्यस्तै, २५ किलोग्रामको भान्साघर स्टिम जिरा मसिनो चामलको मूल्य रु दुई हजार ५८० कायम गरिएको छ । मङ्गलम, पाल्की, निश्चल, नातिनातिनी र बहुलीलगायत विभिन्न ब्रान्डका चामलसमेत छुटसहित बिक्रीका लागि राखिएका छन् ।
मूल्य सूचीअनुसार मुसुरो दाल प्रतिकिलोग्राम रु १४०, रहर दाल रु २१०, मास दाल रु २०५ र चना दाल रु १५५ मा बिक्री भइरहेको छ । मुग दाल, विभिन्न प्रकारका सिमी तथा गेडागुडीसमेत छुट मूल्यमा उपलब्ध रहेको उहाँले बताउनुभयो ।
मनश्री र सिवालिक ब्रान्डका आटा तथा मैदा, कोदो र फापरको पिठो तथा मकै र जौको च्याख्लासमेत बिक्रीका लागि राखिएको छ । घ्यु तथा तेलतर्फ डिडीसी घ्यु रु एक हजार १४०, शान्ति तोरीको तेल रु ३८० र तृप्ति तोरीको तेल रु २७० मा उपलब्ध छन् । सनबिम सूर्यमुखी तेलसमेत बिक्रीका लागि राखिएको छ ।
त्यस्तै, अर्गानिक लसुन, अदुवा, दालचिनी, खुर्सानी, बेसारलगायत मसला तथा विभिन्न ब्रान्डका चियासमेत उपलब्ध छन् । खाद्यान्नबाहेक अन्य घरायसी सामग्रीमा सहुलियत दिइएको कर्पोरेशनले जनाएको छ ।
एसटिसी ग्यास सिलिन्डर रु दुई हजार १६५, लुनारको दुई हजार वाटको इन्डक्सन कुकटप रु चार हजार ९६० र किनमेल गर्ने झोला रु ३५ मा उपलब्ध रहेको कार्यालय प्रमुख अवालेले बताउनुभयो । चाडपर्वका बेला आवश्यक उपभोग्य वस्तु सुलभ र सहज रूपमा खरिद गर्न उहाँले उपभोक्तालाई आग्रह गर्नुभयो ।
खुला बजारका तुलनामा सुपथ मूल्य पसलमा सस्तो दरमा खाद्यान्न तथा घरायसी सामान पाएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । पसलमा सामान खरिद गरिरहनुभएकी बनेपाकी स्थानीय उपभोक्ता रमिता नेपालीले बजारमा महँगी बढेकाबेला साल्ट ट्रेडिङले चाडपर्वको मुखमा सस्तोमा नुन, तेल, चामल र दाल उपलब्ध गराउँदा आफूहरूजस्ता सर्वसाधारणलाई ठूलो राहत भएको बताउनुभयो । उहाँले भन्नुभयो “यसले घरखर्च चलाउन सहज भएको छ । ”
साल्टट्रेडिङले यही असोज १ गतेदेखि दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।रासस

























