देश/प्रदेश
लमजुङ खण्डमा आवागमन सामान्य

लमजुङ, असोज १५ –
लगातारको वर्षा र बाढीका कारण अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्डमा यातायात आवागमन सामान्य भएको छ ।
वर्षा र बाढीका कारण सडकका विभिन्न स्थानमा पहिरो, कटान जस्ता समस्याका कारण केही दिन यातायात सञ्चालनमा समस्या भएको थियो ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार मस्र्याङ्दी गाउँपालिका–४ रामबजारलगायत लमजुङतर्फका क्षतिग्रस्त स्थानमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ ।
बेँसीसहरदेखि मनाङको खोत्रो नजिकसम्म सवारीसाधन सञ्चालन भएका छन् । “लमजुङतर्फको सडक अहिले सञ्चालनमा आएको छ । क्षतिग्रस्त स्थानमा पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो ।
मनाङको नासों गाउँपालिका–३ खोत्रोदेखि माथिल्लो क्षेत्रमा भने सडक सञ्चालनमा आउन सकेको छैन । वर्षाका कारण विभिन्न स्थानमा सडक नै भासिएको तथा पहिरो र कटानका कारण क्षति पुगेको आयोजनाले जनाएको छ । खोत्रोमा ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेकाले सडक खुलाउन कठिन भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।
ठूला ढुङ्गा हटाउन ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेकाले प्राविधिक टोली परिचालन गरी काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । आयोजनाका दुई डोजरसहित थप एक डोजरसमेत परिचालन गरी माथिल्लो तथा तल्लो क्षेत्रमा आवश्यकताअनुसार सडक खुलाउने र मर्मतको काम भइरहेको विष्टले बताउनुभयो ।
“विभिन्न स्थानमा अझै समस्या छ । सात–आठ ठाउँमा सडक भासिएको छ,” उहाँले भन्नुभयो । मौसममा सुधार आएसँगै अवरुद्ध सडक खुलाउने तथा क्षतिग्रस्त संरचना मर्मत गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ । करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई लमजुङ हुँदै अन्य जिल्लासँग जोड्ने मुख्य सडक हो । लगातारको वर्षापछि विभिन्न स्थानमा क्षति पुगेकाले समस्या थपिएको आयोजनाले जनाएको छ । रासस

























