चितवन विशेष

चितवनको विकट राप्तीका दुई वडामा ९० जना चेपाङलाई बाँडियो नागरिकता

०
Banner

भरतपुर, असोज १४-

चितवनको राप्ती नगरपालिकाका अति विकट तथा पहाडी क्षेत्रमा पुगेर प्रमुख जिल्ला अधिकारीसहितको टोलीले ९० जना चेपाङ समुदायका नागरिकलाई नेपाली नागरिकता वितरण गरेको छ। भरतपुरबाट गएर नागरिकता लिन मात्रै बिच बाटोमा एक रात बास बस्नुपर्ने भौगोलिक बाध्यता र वर्षायामको जोखिमपूर्ण बाटोलाई चिर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल नेतृत्वको टोली स्थगतरूपमै बस्तीमा पुगेको हो।

बर्खाका बीच पहिरोले बाटो अवरुद्ध भएको अवस्थामा समेत सिडिओ अर्यालसहितको टोली विकट बस्तीमा पुगेको थियो। यस अभियानका क्रममा राप्ती–१३ मा ८४ जना र राप्ती–१२ मा कागजात नपुगेर वर्षौँदेखि वञ्चित रहेका ६ जना गरी कुल ९० जनाले नागरिकता प्राप्त गरेका छन्। यसरी नागरिकता पाउनेमा २०११ सालदेखि नागरिकताविहीन रहेका दृष्टिविहीन तथा वृद्धवृद्धा चेपाङ नागरिकहरूसमेत रहेका छन्।

राप्ती–१३ का वडाध्यक्ष अशोक कुमार प्रजाको सहजीकरणमा नागरिकता नभएका चेपाङ समुदायका नागरिकहरूको कागजात तयार गरी प्रशासन कार्यालयसँग समन्वय गरिएको थियो। भदौ २१ गते चितवन हाजिर भएका सिडिओ अर्यालले चेपाङलाई नागरिकता दिन विशेष सक्रियता देखाएका थिए। पहाडी भूगोलका वडाध्यक्ष र पालिका प्रमुखहरूलाई बारम्बार फोन सम्पर्क गर्दै उनले भनेका थिए, “एउटा चेपाङलाई नागरिकता दिँदा जागिर जान्छ भने पनि जाओस्, एउटा अनुसूची भरेर ल्याइदिनुस्, अरु जिम्मा हामी लिन्छौँ।”

वडाध्यक्षहरूले अनुसूची भरेर ल्याएपछि प्रशासनले त्यसै अनुसार नागरिकता वितरण गरेको हो। नागरिकता वितरणसँगै निर्वाचन कार्यालयको टोलीले सोही स्थानबाट मतदाता परिचयपत्रसमेत वितरण गरेको छ। सिडिओ अर्यालले चेपाङ समुदायको एउटा पनि व्यक्ति कागजात नपुगेको कारण नागरिकता लिनबाट वञ्चित हुन नहुने बताउँदै भने, “नागरिकता नभएको अरू कोही हुनुहुन्छ भने एउटा अनुसूची भरिदिनुस्, अरू सबै काम हामी गर्छौँ।”

जिल्ला प्रशासन कार्यालय चितवनकी प्रशासकिय अधिकृत अन्तिम सिंजाली मगरले आफु राप्तीकै बासिन्दा भएपनि राप्ती–१३ अत्यन्तै विकट क्षेत्र रहेको कुरा आफु पुगेपछि मात्रै महसुस भएको बताइन् । सिडिओ अर्यालको निर्देशनमा राप्तीका दुई वटा वडामा घुम्ती शिविर राखेर नागरिकता वितरण गरिएको उनले बताइन् ।

‘सदरमुकामसम्म पुग्नै दुई/तीन दिन खर्चिनुपर्ने ठाउँ पनि रहेछ । यहाँ आएर नागरिकता बाँड्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ’, उनी भन्छिन्, ‘स्थानीयको समस्या र पिडा आफ्नै आँखाले देख्न पाएँ । आफ्नै हातले हस्ताक्षर गरेको नागरिकता बाँड्न पाएँ । सिडिओसापले जुराइदिनुभएको यो अवसरको लागि कृतज्ञ छु ।’ जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले विकट बस्तीमा पुगेर नागरिकको मतदाता परिचय पत्र बनाउन पाउँदा गौरव अनुभव भएको बताए । चेपाङ अभियान्ता केपी किरण शर्माले चेपाङ समुदायको समस्या बुझेर चितवनका प्रजिअले निरन्तर काम गरिरहेको भन्दै आभार व्यक्त गरे । सो अवसरमा नागरिकता लिन आउनेहरुका लागि खाजाको प्याकेट समेत उपलब्ध गराइएको थियो । नागरिकता बनाउनका लागि तीन/ चार घण्टा हिडेर नागरिकहरु वडा नम्वर १३ को कार्यालयमा आइपुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>