देश/प्रदेश
पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा

खोटाङ,असोज १४
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङका अध्यक्ष हरिवोल आचार्यको परिवारले आफ्नो स्वर्गीय बुबाको वार्षिक पुण्यतिथिको अवसर पारेर आर्यघाटमा फलैँचा निर्माण तथा मन्दिर सरसफाइ गरेका छन् ।
स्वर्गीय बुबा हरिप्रसाद आचार्यको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारका सदस्यले मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको मेवाखोलास्थित गुप्तेश्वर आर्यघाटमा फलैँचा निर्माण तथा गुप्तेश्वर महादेव मन्दिर परिसर सरसफाइ गरेका हुन् ।
वार्षिक पुण्यतिथिमा गरिने फजुल खर्च कटाएर मृत्यु संस्कारका लागि आर्यघाटमा गएका मलामी तथा आफन्त बस्न मिल्नेगरी १४ वटा फलामको फलैँचा निर्माण गरेर स्थापना गरिएको पत्रकार महासङ्घका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
“हाम्रो संस्कारमा आफ्ना आफन्तको मृत्यु भएको वर्षदिनमा सप्ताह पुरान लगाउने चलन छ । त्यो स्वर्गीय आफन्तले पाउँछन् भन्ने कुनै ग्यारेन्टी छैन”, उहाँले भन्नुभयो, “हप्तादिनसम्म लगाइने पुरानमा ठूलो खर्च हुन्छ । परिवारका सदस्य अतिथि संत्कार तथा पूजाआजामा खटिँदा गलेर हैरान हुन्छन् । त्योभन्दा सबैले उपभोग गर्न पाउनेगरी आर्यघाटमा फलैँचा निर्माण गरिदिएका हौँ ।”
पुण्यतिथिमा स्थापना गर्नेगरी दिक्तेलबजारमा रु एक लाख ५० हजार बराबरको १४ वटा फलामे फलैँचा निर्माण गरिएको आचार्य परिवारले जनाएका छन् । हिन्दु संस्कारअनुसार एकछाक खाएर बस्नेदिन अर्थात् पुण्यतिथिको अघिल्लो दिन सातवटा आर्यघाटमा लगेर स्थापना गरिएको र बाँकी सातवटा केही दिनपछि मौसम खुलेपछि स्थापना गरिनेछ ।
आर्यघाटमा फलैँचा निर्माणसँगै नजिकै रहेको गुप्तेश्वर महादेव मन्दिर परिसर सरसफाइ गरिएको आचार्य परिवारले जनाएका छन् । स्वर्गीय हरिप्रसाद आचार्यको परिवारले मृत्यु संस्कारमा गरिने फजुल खर्च कटाएर सामाजिक कामको थालनी गर्नु अरूका लागि पनि प्रेरणाको स्रोत बनेको स्थानीयवासी एवम् नेपाल कम्युनिष्ट पार्टी ९एमाले० खोटाङका उपाध्यक्ष कुमार आचार्यले बताउनुभयो ।
तीन छोरा र तीन छोरीका स्वर्गीय बुबा हरिप्रसादको विसं २०८२ भदौ २६ गते ९२ वर्षको उमेरमा निधन भएको थियो ।
बुबाको पुण्यतिथि पारेर आर्यघाटमा स्थापना गरिएको फलामे फलैँचामा स्वर्गीय बुबा, आमा र दाजुको नाम उल्लेख गरिएको छ । स्वर्गीय हरिप्रसादका जेठा छोरा पर्शुराम र श्रीमती मनमायाँ आचार्यको यसअघि नै मृत्यु भइसकेको छ ।
निर्माण व्यवसायी तथा सामाजिक अभियन्ता हरिप्रसादको स्मृतिमा हरेक वर्षको पुण्यतिथिमा सामाजिक काम गर्ने योजना बनाइएको माहिला छोरा टङ्कप्रसादले बताउनुभयो । रासस























