Breaking News
नयाँ रेकर्ड कायम गरेको नारायणी पुरानै लयमा फर्किंदै, करिब पाँच मिटर घट्यो जलसतह

चितवन, असोज ११ –
लगातारको वर्षाले उर्लिएको नारायणी नदीको जलसतह घट्दै गएको छ। आइतबार इतिहासकै उच्च बिन्दुमा पुगेको नारायणी अहिले क्रमशः पुरानै लयमा फर्किन थालेको हो।
जल मापन केन्द्र देवघाटका अनुसार आइतबार नारायणी नदीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो। जल मापन केन्द्र स्थापना भएयता मापन गरिएको यो सबैभन्दा उच्च जलसतह हो।
सोमबार दिउँसो ३ः३० बजे गरिएको मापनमा नारायणीको जलसतह घटेर ७ दशमलव ११ मिटरमा झरेको छ। उच्च बिन्दुबाट नदीको जलसतह करिब पाँच मिटर घटेको हो।
यसअघि २०८१ असोज १२ गते नारायणीको जलसतह ११ दशमलव ६ मिटर पुगेको थियो। त्यस्तै, सोही वर्ष असार २२ गते १० दशमलव ४६ मिटर मापन गरिएको थियो। यसपटक ती दुवै रेकर्डलाई उछिन्दै नारायणीको जलसतह नयाँ उचाइमा पुगेको हो।
नारायणीमा नौ मिटरभन्दा माथिको जलसतहलाई खतराको अवस्था मानिन्छ भने सात मिटर ३० सेन्टिमिटर पार गरेपछि सतर्कताको अवस्था मानिने गरिएको छ। वर्षा कम हुँदै गएसँगै नदीको बहाव पनि घट्दै गएको छ।























