Breaking News

‘बिगुल फुके चितवनले देशै जुरमुराउँछ……’

अन्तरवार्ता

०
Banner

नेपाली गीत–संगीतमा लामो समयदेखि सक्रिय नाम हो—चितवनका गीतकार प्रभात कुमार जोशी। २० को दशकबाट शुरु भएको उनको गीत लेखन यात्रा आज पनि निरन्तर छ। ‘बादल भै गो उडेर गै जा…’ बाट सुरु भएको उनको गीति यात्राले यात्राले ‘नारायणीको पानी जस्तै सङ्लो चितवन…’ जस्ता लोकप्रिय गीत जन्माएको छ।

गीत लेखनसँगै साहित्य, संस्कृति र सामाजिक गतिविधिमा सक्रिय जोशीका सिर्जनामा प्रकृति, समाज, प्रेम, भावना र परिवर्तनका स्वरहरू भेटिन्छन्। थुप्रै नेपाली चलचित्रका लागि समेत गीत लेखेका उनले भगवानदास श्रेष्ठ र निर्देशक शिव रेग्मीजस्ता चलचित्रकर्मीहरूसँग सहकार्य गरेका छन्। प्रस्तुत छः जोशीसँग उनको गीत लेखन यात्रा, सिर्जनाको प्रक्रिया, चितवनसँगको सम्बन्ध, चलचित्र गीतको अनुभव र नेपाली कला–साहित्यको अवस्थाबारे गरिएको कुराकानी।

१. तपाईंको गीत लेखन यात्रा कहाँबाट र कसरी सुरु भयो ? पहिलो गीत लेख्दाको सम्झना आज पनि ताजा छ ?

–मेरो गीत लेखन यात्रा नारायणी कला मन्दिर, नारायणगढबाट सुरु भएको हो। म करिब २०१९ सालतिर नारायणगढ आएको हो। नारायणगढ आएपछि स्थानीय साहित्यकार तथा कलाकारहरूसँग मेरो संगत बढ्दै गयो। त्यतिबेला नारायणी कला मन्दिरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना हुन्थे। म पनि त्यस्ता कार्यक्रममा कलाकार तथा संस्कृतिकर्मीका रूपमा सहभागी हुन थालेँ। गायक तथा संगीतकार प्रसाद श्रेष्ठलगायतका साथीहरूसँग भेटघाट र छलफल हुन थाल्यो। प्रेमविनोद नन्दन र उपेन्द्र श्रेष्ठजस्ता स्रष्टाहरूका गीतहरू सुन्दै र साहित्यिक गतिविधिमा सहभागी हुँदै गर्दा गीत लेख्ने प्रेरणा मिल्दै गयो।
त्यतिबेला म कविता लेख्ने र वाचन गर्ने गर्थें। कहिलेकाहीँ कविता वाचनका क्रममा गीत पनि लेख्नुपर्छ है भन्ने सुझाव पनि पाउँथेँ। तर गीत लेख्ने अभ्यास भने खासै थिएन।

एक दिन प्रसादजीले नारायणी कला मन्दिरको भाडाको घरमा बोलाएर गीत लेख्न आग्रह गर्नु भयो । त्यहाँ प्रसादजी, कर्मलालदाई, सूर्यमान, टक दाई लगायत केही साथीहरू हुनुहुन्थ्यो। उहाँहरूले गितार, तबला तथा अन्य बाजा बजाएर धुन सुनाउनुभयो र त्यही धुनमा मिल्ने शब्द संयोजन गर्न भन्नुभयो।

मैले आफ्नो मनमा आएका केही शब्दहरू टिप्दै गएँ। सुरुमा सजिलै शब्द आएन। साथीहरूले धुन बजाइरहनुभयो र मलाई गीतका शब्द तयार गर्न प्रोत्साहित गर्नुभयो। अन्ततः केही शब्द संयोजन गरेर गीत तयार पारे।

त्यसरी नै मेरो पहिलो गीत लेख्ने यात्रा सुरु भयो। पहिलो गीत तयार भएपछि त्यसलाई संगीतबद्ध गर्ने र गाउने काम भयो। पछि त्यसलाई रेकर्ड गर्ने अवसर पनि पाएँ। त्यो समय मेरो सिर्जनात्मक यात्राको अत्यन्त महत्वपूर्ण र अविस्मरणीय क्षण थियो।
आज धेरै वर्षपछि फर्केर हेर्दा लाग्छ—पहिलो गीत लेख्दा आएको त्यो उत्साह, साथीहरूको प्रोत्साहन र नारायणी कला मन्दिरको वातावरणले नै मलाई गीत लेखनतर्फ अगाडि बढाएको हो। त्यसपछि गीत, साहित्य, संगीत र सांस्कृतिक गतिविधिप्रतिको मेरो रुची झन गहिरिँदै गयो।

२. त्यो गित चाहिँ कुन थियो ?

–गीत चाहिँ बादल भै गो उडेर गै जा…. थियो। गीत पूरा भएपछि सबैजनाले तारिफ गर्दा दङ्ग परे, पहिलोपटक गीत लेखेर हर्षमा डुबे। सो गीत पछि २०२७ सालमा प्रसादजीको संगीतमा गायक महेश विश्वकर्मा भाईले गाउनु भयो। ताजा भनु कि बासी पहिलो गीत लेख्दाको यिनै हुन मिर्मिरे सम्झना ।

३. चितवनलाई कर्मभूमि बनाएर साहित्यको क्षेत्रमा लामो समय बिताउनुभयो। चितवनले तपाईंलाई गीतकारका रूपमा कसरी प्रभावित गर्‍यो ?

–चितवनले मलाई गीतकारको रूपमा यसो यसो गरेर प्रभावित गरेको भन्ने हैसियत म राख्दिन। सत्यमा भन्नुपर्दा साहित्यमा मात्र होइन—मैले भोगेका प्रत्येक पल र बिताएका हरेक क्षणमा चितवनमा प्रकृति, परिवेशले प्रभाव पारेको छ। नारायणीको पवित्रता र कलकल, वरपरको जंगलमा विचरण गर्ने जीवजन्तुको स्वच्छन्दता र सखारै चिरबिराउने चराचुरुङ्गीको संगीतले प्रेम, करुणा र सहअस्तित्व स्विकार्न सिकाइरहन्छ। मेरो विचारमा गीत गाउन र लेख्नेको लागि चितवन अनुपम ठाउँ हो अर्थात् स्वर्ग हो।

४. तपाइँको गीत सिर्जना गर्ने प्रक्रिया चाहिँ कस्तो हुन्छ ?

–कुनै विषयले मन भित्रै छोयो भने म केही काल बिथोलिन्छु र सान्दर्भिक बस्तुस्थितिको परिकल्पना गर्छु अनि त्यसैलाई साक्षी राखेर बिस्तारै लेख्न थाल्छु।

५..तपाईले गीत लेख्दा पहिले शब्द जन्मिछ कि धुनले शब्द खोज्छ ?

–मेरो पहिलो गीत नै धुनले खोजेर जन्मेको हो। अरु केही गीतहरु पनि धुन पच्छ्याएर लेखेको छु। तर धेरै गीतहरु शब्द संयोजन पछि धुनमा बाधिएका हुन्।

६. तपाईंको धेरै गीतहरु गायक–गायिकाको अनुरोधमा लेख्नुभएको बताइन्छ। यस्तो अवस्थामा आफ्ना भावना र गायकको अपेक्षाबीच कसरी सन्तुलन मिलाउनुहुन्छ ?

–गीत लेख्दा आफ्ना भावना र गायक–गायिकाको अपेक्षाबीच सन्तुलन मिलाउनु मेरो लागि निकै महत्त्वपूर्ण हुन्छ। गायक–गायिकाको अनुरोध र गीतको भावनात्मक आवश्यकता पहिले बुझ्ने प्रयास गर्छु। त्यसपछि उनीहरूले व्यक्त गर्न खोजेको भावना, शैली र श्रोता वर्गलाई ध्यानमा राख्दै आफ्नै अनुभूति र सिर्जनात्मकतालाई त्यसमा मिसाउँछु।

मेरो विचारमा गीतकारले आफ्नो भावना मात्र थोपर्नु हुँदैन, गायकको अपेक्षामा मात्र पनि सीमित हुनु हुँदैन। दुवै पक्षको भावनालाई संयोजन गरेर मौलिक, स्वाभाविक र श्रोतालाई छुने गीत सिर्जना गर्नु नै वास्तविक चुनौती र सन्तुष्टि हो।

७. तपाईले धेरै नेपाली चलचित्रका गीतहरु पनि लेख्नुभयो, स्वछन्द रुपमा लेखिने गीत र चलचित्रका लागि लेखिने गीतमा तात्विक अन्तर के छ ?

–मेरो आफ्नो लागि स्वच्छन्द रुपमा लेखिने गीत र कथानक चलचित्रको लागि लेखिने गीतमा म केही तात्विक अन्तर पाउदिन। किनभने स्वच्छन्द रुपले लेखिने गीतमा पनि म विषय वस्तुलाई साक्षीको रुपमा मनभरि राख्छु र लेख्छु।

८. चलचित्र निर्माता भगवानदास श्रेष्ठ, निर्देशक स्वर्गीय शिव रेग्मीका चलचित्रहरुमा धेरै गीतहरु लेख्नुभयो, नेपाली चलचित्र जगतमा उहाँहरुको योगदानलाई कसरी सम्झनु हुन्छ ?

–भगवानदास श्रेष्ठले नेपालमा निजी क्षेत्रको लगानीमा पहिलो चलचित्र ‘कान्छी’ को निर्माण गरेर नेपाली चलचित्रको एउटा गोरेटो तैयार पार्नुभयो र त्यहीँ बाटोमा अघि बढ्दै नेपाली चलचित्र जगत आजको अवस्थामा आईपुगेको हो, र भुइँमान्छेको कथाब्यथालाई छर्लङ्ग पारेर नेपाली समाजको यथार्थतालाई पस्किने शिव रेग्मी साच्चिकै समाजमा रमेका र भिजेका सक्षम निर्देशक थिए । उनी नेपाली चलचित्र जगतका अविस्मरणीय पात्र हुन् । नेपाली चलचित्र जगतका यी दुई योग्य पात्रलाई बिर्से नेपाली चलचित्रको ईतिहास अपुरो मात्र हैन,अपाङ्गै हुन्छ।

९. अहिले सम्मको तपाइँको गीति यात्रामा तपाईलाई गर्व लाग्ने सिर्जना वा उपलब्धी कुन हो ?

–गायक, संगीतकार सहन प्रधानको संगीत संयोजनमा बनेको ‘नारायणीको पानी जस्तै सङ्गलो चितवन…’ धेरैले मन पराईदिनु भएको गीत हो। यसैले नै मलाई गीतकार भनेर चिनाएकोमा गर्वित छु। जुन गीतलाई चितवनबासीले चितवन गानको रुपमा पनि हेर्छन् ।

१०. यो गीतमा प्रयोग भएको एक लाइन ‘बिगुल फुके चितवनले देशै जुर्मुराउछ….’ ले हरेकलाई जुरुक्क पार्ने खालको लाग्छ मलाई, यसले गीतमा के सन्देश दिन खोज्नु भएको हो ?

–अमरजी, चितवनले ७ साल, ४६ साल होस् वा ६२/६३ को आन्दोलन होस्, परिवर्तनको लागि जहिले पनि अग्रणी भुमिका खेलेको छ। देशको हरेक परिवर्तनमा चितवनबासीले खेलेको भुमिकालाई उच्च आदर र सम्मान गर्दै चितवनबासीको भावना र योगदानको प्रतिबिम्बित गर्दै गीतमा यो लाइन राखेको हुँ।

११. तपाईको उत्कृष्ट सिर्जना मध्ये एक ‘नारायणीको पानी जस्तै सङ्गलो चितवन….’ यो गीतको गर्भ रचना बताईदिनुस् न।

–सहन भाईले मलाई २०५५ सालमा चितवन महोत्सवका लागि चितवनको विशेषता समेतको एउटा गीत लेख्नुस न दाई, म संगीत हालेर गाउँछु भन्नुभयो, अनुकुल नमिलेर हो कि किन हो, म हुन्छ हुन्छ भन्दै टार्दै गैरहेको थिए। तर जे कुराको पनि समय आउनु पर्ने रहेछ। गीत रचनाको छुट्टै कथा छ–त्यो बेला डुब्नै लागेको नारायणी नदि किनारको बालकुमारी ईंग्लिश स्कुलको प्रिन्सिपल भएर स्कुल जगाउन कम्मर कसेर लागेको म, विद्यालयको व्यवस्थापन नयाँ ढंगले शुरु गर्ने सोँचमा फराकिलो मन लिएर भविष्य प्रति आशाबादी हुँदै प्रिन्सिपल भएको पहिलो दिन २०५५ सालमा प्रिन्सिपलको कुर्चीमा बसेर नारायणी नदि हेर्दै टोलाई रहेको अवस्थामा गर्भधान भएको गीत हो ‘नारायणीको सङ्गलो पानी….’

१२. नारायणी कला मन्दिरको पूर्व अध्यक्षको रुपमा सांस्कृतिक तथा सामाजिक क्षेत्रमा काम गर्दा तपाईले के–कस्ता उपलब्धि र चुनौतीको अनुभव गर्नुभयो ?

–अध्यक्ष हुनु भन्दा पहिलेदेखि नै संस्थाको विभिन्न जिम्मेवारीमा रहँदा जति हन्डर र चुनौती बेहोरियो र समाधानको लागि खटिइयो, त्यसबाट प्राप्त प्रतिफलले अध्यक्ष हुँदा खासै उपलब्धी केही भए जस्तो लागेन। पूर्व अध्यक्षहरुको साथ सहयोग, सल्लाह सुझाबले काम गर्न सजिलो भएको महसुस गरे। चुनौती पनि बेला र परिस्थिति हेरेर हुने रैछ। समाधान गर्नै नसकिने चुनौतीहरु भोग्नु परेन। संस्कृति जगेर्ना र उत्थानमा सहभागितामुलक कार्यक्रमहरु गर्न जोड दिइयो।

१३. अहिलेको अवस्थामा नारायणी कला मन्दिरले नाचगानमा बढी जोड दिने तर साहित्यिक कार्यक्रमहरु चाहि खासै गर्दैन भन्ने आरोपलाई कसरी लिनु हुन्छ ?

–यो कुरा केहि सहि पनि हो, तर पनि कला मन्दिरले विभिन्न साहित्यिक संस्थाहरुसङ्ग मिलेर बेला बखतमा त्यस्ता कार्यक्रमहरु, नाटकलगायतका गतिविधिहरु गर्दै आईरहेको छ। उद्यपी, साहित्यिक कार्यक्रमहरु नियमित रुपमा गर्नुपर्ने चाहिँ देखिन्छ।

१४. तपाइको एउटा गीति सङ्ग्रह र सस्मरण प्रकाशित भैसकेका छ, आगामी दिनमा नयाँ कुनै कृति निकाल्ने योजना छ ?

–मेरो फुटकर रचनाहरु धेरै छन् । फुर्सदको बेला अहिले पनि गीत, कविता केहि न केही लेखिराख्छु। आगामी दिनमा छिट्टै एउटा गीति सङ्ग्रह निकाल्ने योजनामा छु।

१५. अन्त्यमा, आफ्ना पाठक, श्रोता र शुभचिन्तकहरुलाई के सन्देश दिनुहुन्छ ?

–गीत, संगीत, साहित्य भनेको कुनै पनि समाजको ऎना हो। यसले देश,समाज र हाम्रो परिबेशको चिनारी दिन्छ। त्यसैले हामी सबैमा पढ्ने र सुन्ने बानी बढोस, धन्यबाद।

प्रस्तुतकर्ताः अमर प्रधान
(सिनर्जी एफ.एमका संस्थापक स्टेशन मेनेजर)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>