Breaking News
कांग्रेस भरतपुर महानगरको सभापतिमा तीन जनाको प्रतिस्पर्धा, मतदान जारी

चितवन, असोज ७–
नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तरगत भरतपुर महानगरको अधिवेशन जारी छ । नारायणगढमा जारी अधिवेशनमा महानगरको नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा भइरहेको छ ।
सभापतिमा यसअघिका उपसभापति बुद्धि कान्त न्यौपाने प्रतिस्पर्धामा उत्रिएका छन् । न्यौपानेसंगै सभापतिमा कृष्ण विलास अधिकारी र ज्योति प्रसाद कंडेल पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस्तै उपसभापतिमा मित्र निधी तिवारी र रेशम बहादुर देउजाबीच प्रतिस्पर्धा छ । सचिवमा रामजी पौडेल र सुमित पराजुलीबीच प्रतिस्पर्धा भइरहेको छ ।
पदाधिकारी मध्ये महिला उपसभापति र सह–सचिव भने निर्विरोध निर्वाचित भएका छन् । महिला उपसभापतिमा उम्मेदवारी दर्ता गराएकी कल्पना पौडेल र सह–सचिवमा उम्मेदवारी दिएका देउबहादुर थापा मगर निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अहिले सभापति, खुल्ला उपसभापति र सचिवमा भने निर्वाचन भइरहेको छ । भरतपुरमा कुल १३ सय बढी मतदाता छन् । नगर सदस्यहरु भने सबै निर्विरोध निर्वाचित भएका छन् ।

























