देश/प्रदेश

भोटेकोशी बाढीमा बेपत्ता पाल्पाका चार जनाको कुशको शव बनाएर अन्त्येष्टि

Banner

पाल्पा, असोज ५ –

भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।

तीन सातासम्म उनीहरुको अवस्थाबारे केही जानकारी आउन नसकेपछि निराश भएका आफन्तले कुशको शव बनाएर परम्पराअनुसार दाहसंस्कार गरेका हुन् ।

रिब्दीकोट गाउँपालिका–३ का विकास नेपाल, तिनाउ गाउँपालिका–२, झ्याङ्ला चिसापानीका ३४ वर्षीय रमेश थापा, तानसेन नगरपालिका–७, लामडाँडाकी ३५ वर्षीया निलम कार्की र तानसेन नगरपालिका–३ र वसन्तपुर (कालीगण्डकी गाउँपालिका–३, वइघा, स्याङ्जा) का तिलबहादुर रानाको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।

रिब्दीकोट गाउँपालिका–३ का नेपालको आइतबार परिवारले रिडीस्थित कालीगण्डकी नदीमा कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको छ । तीन हप्तासम्म सम्पर्कमा नआएपछि हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको उहाँका आफन्त निलम गौतमले बताउनुभयो ।

विकास रसुवास्थित एक हाड्रोपावरमा टिपर चालकका रुपमा कार्यरत हुनुहुन्थ्यो । तिनाउका थापाको शनिबार बेपत्ता भएको २४ दिनपछि दोभान खोलाको बञ्चरे पहाड घाटमा हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको जनाएको छ ।

थापाका एक छोरा छन् । थापा रसुवास्थित लाङटाङ हाइड्रोपावरमा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

त्यसैगरी, भोटेकोशी बाढीमै बेपत्ता तानसेन लामडाँडाकी निलम लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँको पनि कालीगण्डकी नदीमा कुशको शव बनाएर दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।

तानसेन नगरपालिका–३, बसन्तपुर बस्दै आउनुभएका स्याङ्जाका रानाको पनि कुशको शव बनाई दाहसंस्कार गरिएको छ । उहाँ कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र, स्याङ्जाको बेलाटारीमा कार्यरत हुनुहुन्थ्यो ।

बाढीका कारण सम्पर्कविहीन भएका पाल्पाका ११ जना मध्ये नेपाल प्रहरीमा कार्यरत तानसेनका दीपेन्द्र विष्टको शव पहिचान भएको छ । सम्पर्कविहीन रैनादेवी छहरा गाउँपालिका –१ का सशस्त्र प्रहरी जवान आनबहादुर कुमाल, रिब्दीकोट–५ का कृष्णबहादुर बस्याल, बगनासकाली गाउँपालिका–५ का किशोर न्यौपाने क्षेत्री, निस्दी–३ का बोमबहादुर सोमै, रामपुरका –७ का रामु सुति र रामपुर–७ कै अमृत सुतीको परिवारले भने अझै आउने आशामा बसेका छन् ।

सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल निरन्तर गरिरहेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>