देश/प्रदेश
भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की, असोज २ –
भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ ।
काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुग्नुभएको थियो । त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीमा परेपछि उहाँको अवस्था अज्ञात छ ।
छोरीको खोजीमा बुबा माधव बास्तोला दुई पटकसम्म रसुवा, नुवाकोट पुग्नुभयो । बाढीले पुर्याएको क्षति देखेपछि छोरी सकुशल फर्किने सम्भावना न्यून देखिए पनि परिवारले आशा भने मारेको थिएन । घटना भएको २२ दिनसम्म पनि सृष्टिको कुनै खबर तथा सूचना प्राप्त नभएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको हो । पोखराको तुलसीघाटमा सृष्टिको कुशको शवको प्रतिमा बनाएर अन्त्येष्टि गरिएको छिमेकी वसन्तराज गौतमले जानकारी दिनुभयो ।
“बाढी आउनुअघि भदौ ९ गते साँझमात्र सृष्टि नुवाकोट पुगेकी रहिछन् । बिहान परिवारसँग कुराकानी भएको रहेछ । त्यसपछि कुनै जानकारी प्राप्त भएन”, गौतमले भन्नुभयो, “विनाशकारी बाढीपछि कतै अप्ठ्यारो ठाउँमा भएर सम्पर्क हुन नसकेको होला भन्ने आसमा थियौँ । तर लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवार अन्तिम संस्कार गर्ने निचोडमा पुगेको हो ।”
देशको दक्ष प्राविधिक जनशक्ति बन्ने सपना बोकेर इन्टर्नसिपका लागि आयोजनास्थल पुगेकी सृष्टिको यात्रा अधूरै रहेको छ । अध्ययन पूरा गरेर देश निर्माणमा योगदान दिने उमेरमै बाढीमा बेपत्ता भएपछि परिवार, आफन्त र छिमेकी शोकमा डुबेको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताउनुभयो ।
“होनहार छोरी, परिवारको आशा र देशको सम्भावना बोकेकी सृष्टिको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ”, बरालले भन्नुभयो । त्यसैगरी भोटेकोशी बाढीमा बेपत्ता पोखरा महानगरपालिका–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारी क्षेत्रीको परिवारले पनि कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरिसकेको छ ।
टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी बाढी आएको दिनदेखि नै सम्पर्कविहीन हुनुहुन्छ । लामो समयसम्म खोजी गर्दा पनि उहाँको अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गरेको छिमेकी घनश्याम पाण्डेले बताउनुभयो ।
भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पोखराका अझै १२ जनाको अवस्था अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । बाढीमा बेपत्ता आफन्तको खोजीका लागि परिवारले सम्भावित स्थानमा पुगेर खोजी गरे पनि कुनै जानकारी नआएपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका हुन् ।
बेपत्ता फर्कने आस मेरेपछि अन्तिम संस्कार
यसैबीच भोटेकोशी बाढीमा परी गत भदौ १० गतेदेखि बेपत्ता बेँसीसहर नगरपालिका–११ का झपटबहादुर घर्ती र राधिका घर्तीको आज कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।
बाढीपछि सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि दम्पतीको अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया सुरु गरिएको भतिज विशाल घर्तीले बताउनुभयो । “खोज्नुपर्ने सबै ठाउँमा खोजिसक्यौँ । अब उपाय बाँकी रहेन । काजकिरिया सुरु गरेका हौँ”, उहाँले भन्नुभयो ।
बेँसीसहर–११ का ४५ वर्षीय झपटबहादुर र उहाँकी श्रीमती ४३ वर्षीया राधिका रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुन्थ्यो । गत भदौ १० गतेको बाढीपछि दुवै जना सम्पर्कविहीन हुनुभएको थियो । त्यसयता परिवार तथा सम्बन्धित निकायले सम्भावित स्थानमा खोजी गरे पनि उहाँहरूको शव फेला पर्न सकेको छैन ।
यस्तै, सोही बाढीमा बेपत्ता मस्र्याङ्दी गाउँपालिका–३ खुदीकी रमिला भण्डारीको अवस्था पनि हालसम्म पत्ता लाग्न सकेको छैन । उहाँको पनि संस्कारअनुसार काजकिरिया सम्पन्न भइसकेको छ । भण्डारी सबइन्जिनियरका रूपमा माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुन्थ्यो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार भोटेकोशी बाढीमा जिल्लाका १० जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जनाको पहिचानका लागि डिएनए परीक्षणका लागि पठाइएको उहाँले जानकारी दिनुभयो । रासस
























