चितवन विशेष

जलदेवी सामुदायिक वनमा होमस्टे र आधुनिक प्रशोधन केन्द्र बनाइँदै

Banner

चितवन, असोज १–

भरतपुर महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीले महानगरलाई आधुनिक फोहोर व्यवस्थापनमा देशकै अब्बल स्थानीय तह बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जलदेवी सामुदायिक वन उपभोक्ता समूहको २७औँ स्थापना दिवस तथा १६औँ वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख अधिकारीले यस्तो बताएका हुन् । उनले सामुदायिक वनहरूले वन संरक्षणसँगै आन्तरिक पर्यटन प्रवद्र्धन र स्थानीय बासिन्दाका लागि रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिए ।

वन क्षेत्रभित्र उत्पादन हुने कृषि तथा पशुजन्य वस्तुहरूको प्रशोधन र बजारीकरण गरी अर्गानिक खानपानमार्फत स्वस्थ जीवनशैली अपनाउने गरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता उनले औँल्याए । उनले भने, ‘सामुदायिक वनहरूले वन संरक्षण मात्र होइन, आर्थिक उपार्जन र रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ ।’

नगर प्रमुख अधिकारीले महानगरपालिकाले होमस्टे निर्माणका लागि जलदेवीलाई १५ लाख रुपैयाँ विनियोजन गरिएकाले त्यसको लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरे । यो योजनाका लागि उपभोक्ता समूहले तीन लाख रुपैयाँ लगानी गर्नुपर्ने उनले बताए ।

कार्यवाहक प्रमुख अधिकारीले महानगरले जलदेवीमा आधुनिक प्रशोधन केन्द्र बनाउन सरकारलाई दिनुपर्ने १ करोड ५० लाख रुपैयाँ शुल्कमध्ये ६० लाख रुपैयाँ बुझाइसकेको र बाँकी ९० लाख रुपैयाँको काम सम्पन्न गरेर डिभिजन वन कार्यालयबाट स्वीकृत पत्र प्राप्त हुनासाथ रूख कटान तथा पोल व्यवस्थापनका कामहरू तीव्रताका साथ अघि बढाइने बताए ।

महानगरपालिकाले पहिलो चरणमा आधुनिकीकरण गरिएको फोहोर प्रशोधन केन्द्रलाई व्यवस्थित रूपमा पिपिपी (एएए) मोडलमा सञ्चालन गर्न आवश्यक बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाइसकेको र जग्गा प्राप्ति गर्ने कार्यमा पनि महानगर कतै नचुकेको उनले स्पष्ट पारे । उनले ७५३ वटा स्थानीय तहमध्ये भरतपुर महानगरपालिका जग्गा प्राप्तिमा पहिलो स्थानीय तह बन्न सफल भएको दाबी समेत गरे ।

जलदेवी सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष मिन्द्राकुमारी श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा समूहका सचिव माधव शर्मा भुषालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सिताकुमारी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाट, वन डिभिजनका वन अधिकृत देवीप्रसाद पौडेल लगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>