खेलकुद
एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

चितवन, भदौ ३१–
एन पेनाङ मलेसियाका अध्यक्ष अंकित थापा सम्मानित भएका छन् । भरतपुर फुटबल क्लव (बिएफसी)ले देश तथा विदेशमा रहेर फुटबलमा योगदान पुर्याएको भन्दै थापालाई सम्मान गरेको हो ।
जारी चितवन गोल्डकपको अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि भरतपुर वडा नं.१० का वडा अध्यक्ष परमेश्वर खनाल र चितवन गोल्डकपका संयोजक धुर्व भुषालले अध्यक्ष थापालाई सम्मान पत्र प्रदान गरे । नेपालगञ्ज निवासी थापा विगत १५ वर्षदेखि मलेसियामा छन् । नेपालमा फुटबल खेल्दै गर्दा मलेसियामा पुगेका थापा त्यहाँ पनि खेलकुदमा सक्रिय छन् । मलेसियामा रहेका नेपाली फुटबल क्लव मध्ये एन पेनाङलाई थापाले नै आफ्नो नेतृत्वमा उत्कृष्ट टिम बनाउन सफल भएका छन् । थापाकै नेतृत्वमा नेपालगञ्ज ११ फुटबल टिम नेपाली फुटबलमा उदयीमान टिम बनेको छ । नेपालगञ्ज–११ टिम एन्फाले आयोजना गर्ने ‘सी’ डिभिजन लिगका लागि समेत छनोट भएको छ ।
सम्मान कार्यक्रममा नेप्लिज फुटबल एशोसियन मलेसियाका अध्यक्ष सन्तोष भट्टलगायतको उपस्थिति रहेको थियो । मलेसियामा ३० वटा नेपाली फुटबल क्लवहरु रहेकामा हाल १९ वटा टिम सक्रिय रहेको अध्यक्ष भट्टले बताए । उनले भरतपुर गोल्डकपमा सहभागिता जनाएको एन पेनाङ मलेसियालाई उपाधिका लागि शुभकामना दिँदै मलेसियाका नेपाली फुटबल टिममले पछिल्लो समय प्रगति गर्दै गएकोमा खुशी व्यक्त गरे । उनले मलेसियामा फुटबलको विकाससंगै नेपाली खेलाडीहरुमा आइपर्ने समस्यामा सहयोगी बन्न पनि मलेसियाका क्लवहरु सक्रिय बन्ने गरेको बताए ।
























