देश/प्रदेश

भोटेकोशी बाढीमा दिवंगत भएकाहरुको सम्झनामा दीपप्रज्वलन

Banner

काठमाडौं, भदौ २७-

रसुवामा आएको भीषण बाढीमा परी दिवंगत भएकाहरूको स्मृतिमा राष्ट्रवादी नागरिक समाजले दीपप्रज्वलनसहित शोकसभा गरेको छ ।

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्ने उद्देश्यले शनिबार काठमाडौंको असनचोकमा दीपप्रज्वलन गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीपप्रज्वलनमार्फत श्रद्धाञ्जली अर्पण गरेका थिए ।

साथै, बाढीबाट प्रभावित तथा शोकमा रहेका परिवारजनप्रति ऐक्यबद्धता जनाउँदै गहिरो समवेदना व्यक्त गरिएको थियो । कार्यक्रममा दिवंगतहरूको सम्झनामा मौनधारणसमेत गरिएको थियो ।

राष्ट्रवादी नागरिक समाजका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर रामदामले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष रामदामले भदौ १० गते रसुवामा आएको भोटेकोशीको भीषण बाढीबाट ठूलो मानवीय क्षति भएकाले दिवंगतहरूको सम्झनामा श्रद्धाञ्जली सभा तथा दीपप्रज्वलन गरिएको बताए ।

उनले भने, ‘दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छौँ ।’

अध्यक्ष रामदामले मानव कल्याण नै सबैभन्दा ठूलो कुरा भएकाले पार्टी, जात, धर्म र क्षेत्रभन्दा माथि उठेर विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनुपर्नेमा जोड दिए । एक मानवलाई क्षति हुँदा अर्को मानवले दुःखमा साथ दिनु, पीडामा मलम लगाउनु र सहयोग गर्नु प्रत्येक नेपालीको कर्तव्य भएको उनको भनाइ थियो ।

रसुवा, धादिङ र नुवाकोटमा बाढीका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष रामदामले पीडित परिवारको दुःखमा राष्ट्रवादी नागरिक समाज साथमा रहेको बताए ।

‘रसुवा, धादिङ र नुवाकोटमा भएको धनजनको क्षतिप्रति हामी अत्यन्त दुःखी छौँ। उहाँहरूको दिवंगत आत्माको सम्झनामा राष्ट्रवादी नागरिक समाजले आज वसन्तपुरमा दीपप्रज्वलनसहित शोकसभा आयोजना गरेको हो,’उनले भने ।

राष्ट्रवादी नागरिक समाज, केन्द्रीय कार्यालय असन, काठमाडौंको आयोजनामा सम्पन्न कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>