देश/प्रदेश

आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण

Banner

वालिङ (स्याङ्जा), भदौ २७ –

स्याङ्जाको गल्याङ नगरपालिका–७ र ११ लाई जोड्ने गरी आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । गल्याङ–११ को बुढाथोकी डाँडा र वडा नं ७ को सेनापुकलाई जोड्ने गरी ४४४ मिटर लम्बाईको पुल निर्माण गरिएको हो ।

सेनापुकका स्थानीय सिद्धार्थ राजमार्गसम्म आइपुग्न एक घण्टा लाग्ने गरेकोमा पुल निर्माण भएपछि १० मिनेटमै आउन सकिने भएको हो ।

झट्ट हेर्दा नजिकै देखिएपनि वारीपारी आवतजावत गर्न घण्टौँ समय लाग्ने गरेको थियो । सेनापुकलगायत आँधीखोला पारी रहेको बाक्लो बस्तीका नागरिकको सहजतासँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा पनि यो उपयोगी हुने गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो ।

“पुल निर्माण सम्पन्न भएपछि यहाँका स्थानीयलाई आवतजावत, ब्यापार ब्यवसाय, शिक्षा, स्वास्थ्य तथा दैनिक जीवनयापनकालागि सहज र सरल भएको छ” उहाँले भन्नुभयो, “पुल निर्माणसँगै गल्याङलाई भौतिक, आर्थिक र सामाजिक दृष्टिले मजबुत बनाउँदै समग्र नगरलाई विकासको नयाँ आयाममा अघि बढाउने अपेक्षा गरेका छौँ ।”

सडक किनारा मै रहेको, अग्लो र लामो झोलुङ्गे पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पनि पर्ने र यसबाट आर्थिक लाभ लिन सकिने उहाँको दावी छ । जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले भ्याटसहित चार करोडको लागतमा पुल निर्माण गरेको हो ।

पुल निर्माण भएपछि कृषि तथा पशुपालनका दृष्टिले उपयुक्त रहेको उक्त स्थानमा सम्भावनाका ढोका खुल्ने र जसकाकारण गाउँबाट मानिस शहरमा बसाइ सर्ने दर पनि घट्ने विश्वास लिइएको छ ।

पुल नहुँदा विद्यार्थी पढ्नकालागि झण्डै पाँच किलोमिटर पैदल हिँडेर गल्याङ बजारमा रहेका विद्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य भई अब दुई किलोमिटर हिड्दा पुग्न सकिने भएको गल्याङ–७ सेनापुकका स्थानीयवासी रामप्रसाद अर्यालले बताउनुभयो ।

“यहाँका मानिसलाई दैनिक बजार, विद्यालय, अस्पताल जानकालागि गाउँबाट अटोमा तीन सयदेखि ५०० सम्म खर्च लाग्ने गथ्र्यो” उहाले भन्नुभयो, “पुल तर्नासाथै सिद्धार्थ राजमार्ग छ, त्यहाँबाट जतिबेला पनि गाडी पाइन्छ, पहिलाभन्दा सस्तो र छिटो हुने गरेको छ ।”

स–साना विद्यार्थीलाई विद्यालय पठाउनका लागि गाउँ नजिकैको खोलामा जोखिम हुनसक्ने भएकाले खोला तार्न अभिभावक जानुपर्ने थियो अब पुलको बाटो हुँदै राजमार्गमा आउन पाउने भएपछि त्यो जोखिम पनि हटेको छ ।

पुल निर्माण भई सञ्चालनमा आएपछि गाउँमा एउटा दुईवटा क्षेत्रमाभन्दा पनि बहुआयामिक क्षेत्रमा फाइदा पुगेको दावी स्थानीय अर्यालको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>