देश/प्रदेश

ताकमका विद्यार्थी पढाइसँगै तरकारीखेती गर्दै

Banner

म्याग्दी, भदौ २६ –

म्याग्दीको धौलागिरी गाउँपालिका–७ स्थित ताकम माध्यमिक विद्यालयले तरकारीखेती सुरु गरेको छ ।

विद्यालयको दिवाखाजा, छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने तथा विद्यार्थीलाई प्राविधिक र व्यावसायिक ज्ञानसीप सिकाउने उद्देश्यले तरकारीखेती सुरु गरेको हो ।

विद्यालयका प्राध्यानाध्यापक केशर रावलले प्लास्टिक घर बनाएर मौसमी र बेमौसमि तरकारीखेती सुरु गरेको जानकारी दिनुभयो । “विद्यार्थी र शिक्षकले फुर्सदको समयमा प्रयोगात्मक अभ्यासका लागि पहिलो चरणमा एउटा टनेलमा बन्दा, काउली र गाजर लगाएका छौँ”, उहाँले भन्नुभयो, “थप जमिनमा हिउँदे आलु र साग प्रजातिका तरकारी लगाउने तयारीमा छौँ ।”

विद्यालयकोे तीन रोपनी जग्गामा तरकारीखेतीलाई निरन्तरता दिने विद्यालयको योजना छ । कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई तरकारीखेतीमा सहभागी गराइएको छ ।

तरकारीखेतीका लागि गाउँपालिकाले ‘धवलागिरीको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रममार्फत आर्थिक वर्ष २०८२÷०८३ मा रु एक लाख ५० हजार सहयोग गरेको छ । दातृ संस्था ‘गुड नेवर्स इन्टरनेशनल’को सहयोगमा संगम म्याग्दीमार्फत सञ्चालिक एकिकृत सामुदायिक विकास परियोजनाले प्राङ्ग्रारिक प्रविधिबाट खेती गर्ने तरिकाका विषयमा प्राविधिक सहयोग गरेको छ ।

उक्त परियोजनाले करेसाबारी कार्यक्रममार्फत थप सहयोग गर्ने जनाएको प्रधानाध्यापक रावलले बताउनुभयो । कक्षा आठ देखि १२ सम्म इलेक्ट्रिक इन्जिनियरिङ विषयको पठनपाठन हुने ताकम माविमा दुई सय २१ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थीहरुले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले उक्त कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनउपयोगी र व्यावसायिक सीप सिक्ने मात्र नभई ‘रिफ्रेस’ समेत महसुस गरेको पाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>