अर्थ
युएसभी फार्माद्वारा एनएमए राहत अभियानलाई १ करोड ५० लाख सहयोग

काठमाडौं, भदौ २६ –
नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघको राहत अभियानका लागि १ करोड ५० लाख रुपैंयाँ सहयोग उपलब्ध गराएको छ ।
बाढीबाट गम्भीर रूपमा प्रभावित तथा आर्थिक रूपमा विपन्न परिवारलाई तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम नेपाल चिकित्सक संघको नेतृत्वमा सञ्चालित राहत अभियानमा प्रदान गरिएको हो ।
युएसभी फार्माको सहयोगबाट नेपालका विभिन्न बाढी प्रभावित क्षेत्रमा रहेका करिब ३०० घरधुरीका १५०० व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । रसुवा, नुवाकोट र धादिङमा हालैको हिमबाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण धेरै परिवारले घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सामग्री गुमाएका छन् ।
कतिपय परिवार अस्थायी आश्रयमा बस्न बाध्य भएका छन् भने खानेपानी, सरसफाइ, विद्युत् तथा स्वास्थ्य सेवामा समेत कठिनाइ उत्पन्न भएको छ । यस्तो अवस्थामा प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउँदै सामान्य जनजीवनतर्फ फर्काउन सहयोग पुर्याउनु राहत अभियानको प्रमुख उद्देश्य रहेको छ ।
नेपाल चिकित्सक संघको नेतृत्वमा सञ्चालन भइरहेको राहत अभियानले प्रभावित क्षेत्रको स्थलगत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउनेछ ।
अभियानमार्फत प्रभावित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा ओछ्यान, ब्ल्याङ्केटलगायत आधारभूत सामग्री उपलब्ध गराइनेछ । त्यसैगरी विद्युत् सुविधा प्रभावित भएका क्षेत्रमा सौर्य बत्ती तथा मोबाइल फोन चार्ज गर्न आवश्यक सुविधा उपलब्ध गराउने योजना रहेको छ ।
स्वच्छ खानेपानी तथा सरसफाइका सामग्री, अत्यावश्यक घरायसी सामग्री र औषधिलगायत स्वास्थ्य तथा दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीसमेत प्रभावित परिवारलाई उपलब्ध गराइनेछ । युएसभी फर्मास्युटिकल्सले स्वास्थ्य क्षेत्रमा कार्यरत जिम्मेवार संस्थाका रूपमा मानिसको स्वास्थ्य र जीवनस्तर सुधारमा योगदान पुर्याउनु आफ्नो प्रमुख दायित्व वहन गर्दै उक्त सहयोग गरेको हो ।
स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यसँगै प्राकृतिक विपत्ति तथा मानवीय संकटका समयमा प्रभावित समुदायको साथमा उभिनु पनि आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको कम्पनीले जनाएको छ ।
युएसभी फार्माले प्राकृतिक विपत्तिका समयमा प्रभावित समुदायलाई सहयोग गर्न सरकारी निकाय, निजी क्षेत्र, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था तथा नागरिक समाजबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ ।
फार्माका अनुसार बाढीपीडितका लागि उपलब्ध गराइएको यो सहयोग कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण पहल हो ।
स्वास्थ्य तथा औषधि क्षेत्रमा आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्दै आएको कम्पनीले संकटका समयमा समुदायको आवश्यकताअनुसार सहयोग गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
उक्त सहयोगले तत्काल राहतको आवश्यकता रहेका परिवारलाई आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुग्नुका साथै प्रभावित समुदायलाई सामान्य जनजीवनमा फर्किन र दीर्घकालीन पुनर्लाभ तथा पुनर्निर्माणको प्रक्रियामा अघि बढ्न केही हदसम्म सहयोग पुग्ने छ ।
युएसभी फर्मास्युटिकल्सले बाढीबाट प्रभावित सबै परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै कठिन परिस्थितिमा उनीहरूको साथमा रहेको जनाएको छ ।
प्रभावित समुदायको पुनर्लाभ र पुनर्निर्माणका लागि सम्बन्धित निकाय तथा संस्थाहरूले गरिरहेको प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । न्यूज बैंक


























