चितवन विशेष

चितवनको शिवनगर युवाले भजन गाएर बाढीपीडितलाई जुटाएको ८० हजार ८० प्रधानमन्त्री कोषमा जम्मा

Banner

चितवन, भदौ २६-

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सहयोग जुटाउन शिवनगर युवा भजन समूहले भजन–कीर्तनमार्फत संकलन गरेको रकम सरकारको खातामा वितरण गरीएको छ । विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले तीन दिन विभिन्न चोकमा भजन–कीर्तन आयोजना गरी रु ९१ हजार ६ सय ३१ रुपैँया संकलन गरेको थियो । समूहले संकलन गरेको रकमबाट कार्यक्रम सञ्चालनका क्रममा भएको खर्च कटौती गरी बाँकी बैंक खातामार्फत ८० हजार ८० रुपैयाँ प्रधानमनत्री दैवि प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ ।

विपद्का बेला सहयोगका लागि सरकारी तथा गैरसरकारी संस्था, विभिन्न संघ–संस्था र व्यक्तिहरूले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका बेला शिवनगर युवा भजन समूहले भने धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई राहत संकलनको माध्यम बनाएको हो । समूहले भदौ १७ गतेदेखि लगातार तीन दिन विभिन्न स्थानमा भजन–कीर्तन गरेको थियो । पहिलो दिन भरतपुर १४ को शिवनगर चोकमा बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलन सँगै भजन–कीर्तन गरेको थियो । त्यसपछि दोस्रो दिन भरतपुर १४ कै लमजुङ चोक र तेस्रो दिन राधापुर चोकमा भजन–कीर्तन आयोजना गरिएको थियो । तीन दिनसम्म विभिन्न स्थानमा गरिएको कार्यक्रममा स्थानीयवासी तथा बाटो हिँड्ने सर्वसाधारणसमेत सहभागी भएर सहयोग गरेका थिए ।

धार्मिक आस्था र सामाजिक सेवाको भावनालाई जोडेर आयोजना गरिएको कार्यक्रममा संकलित रकम समूहले सुरक्षित रूपमा व्यवस्थापन गरी विपद्पीडितको राहतका लागि प्रधानमन्त्री कोषमा पठाएको समुहका अध्यक्ष शिव रीजालले बताएका छन् । रिजालका अनुसार विपद्को समयमा समाजका युवाहरू एकजुट भएर पीडित नागरिकका लागि सहयोग गर्नुपर्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो । उनले विपद् कुनै एक व्यक्ति, परिवार वा समुदायको मात्रै समस्या नभएकाले यस्तो अवस्थामा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए । युवाहरूको ऊर्जा र सक्रियतालाई सामाजिक सेवामा जोड्न सकियो भने समाजमा सकारात्मक प्रभाव पार्न सकिने उनको भनाइ छ । शिवनगर युवा भजन समूहले धार्मिक कार्यक्रमलाई केवल मनोरञ्जन वा सांस्कृतिक गतिविधिमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेको जनाएको छ । समूहका सदस्यहरूले सामूहिक रूपमा समय दिएर तीन दिनसम्म कार्यक्रम सञ्चालन गरेका थिए ।

भदौ १० गते आएको बाढीले रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो । बाढीका कारण कतिपय परिवारले आफन्त गुमाएका छन् भने घर, व्यवसाय, सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ । विपद्पछि प्रभावित क्षेत्रमा राहत तथा उद्धारका विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।

यही अवस्थालाई ध्यानमा राख्दै शिवनगर युवा भजन समूहले पनि आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्ने प्रयास गरेको हो । समूहले ठूलो रकम संकलन गर्नुभन्दा पनि विपद्का बेला समाजमा रहेका युवाहरूले आफ्नो सीप, समय र क्षमताअनुसार योगदान गर्न सक्छन् भन्ने सन्देश दिनु महत्वपूर्ण रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>