देश/प्रदेश
भोटेकोशी बाढी मृतकको सम्झनामा तीनदिने विश्वशान्ति पूजा हुँदै

रूपन्देही, भदौ २५ –
विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, मृतकको आत्माको चिरशान्ति र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तीनदिने विश्वशान्ति पूजा गर्ने भएको छ ।
विश्वशान्ति, अहिंसा, परोपकारसहित बुद्धधर्मको पक्षमा क्रियाशील सो संस्थाले विभिन्न धार्मिक सङ्घसंस्थाको सहयोगमा भोटेकोशी नदीमा बाढी गएको २१ औँ पुण्यतिथिका दिन यही भदौ २९ देखि ३१ गते बिहान ७ः३० देखि १०ः०० बजेसम्म काठमाडौँ बौद्ध स्तूपा परिसरमा पूजाआजासहित दीप प्रज्वलन तथा शान्ति प्रार्थना गर्न लागेको जनाएको छ ।
विपत्बाट प्रभावित परिवारको समेत शुख, शान्ति र कल्याणको कामना गरिने सो विश्वशान्ति पूजामा बौद्धनाथ क्षेत्र विकास समिति, काठमाडौँ महानगरपालिका–६ नं वडा कार्यालय, बौद्ध तामाङ कल्याण गुठी, ओम तामाङ सुखदुःख सेवा गुठी, छ्योर्तेन टासी तामाङ गुम्बा, नेपाल बौद्ध शान्ति समाज, नेपाल बोन बुद्धिस्ट महासङ्घ, विश्व बुद्धिस्ट मञ्च नेपाल, नेपाल तामाङ घेदुङ, रसुवा तथा अन्य सङ्घसंस्थाको सहयोग एवं सहभागिता रहने छ ।
शान्तिका पक्षमा हुने आध्यात्मिक तथा सामाजिक अभियानमा निरन्तर सक्रिय श्याल्पा रिन्पोछेले भोटेकोशी नदीमा गएको अकल्पनीय एवं विनासकारी बाढीबाट बुद्धभूमि नेपालमा जनधनको नोक्सानीसहित अपूरणीय क्षति भएकामा दुःख व्यक्त गर्दै बाढीप्रभावितका पक्षमा विश्वशान्ति पूजा गर्न लागेको बताउनुभयो ।
उहाँले अहिंसाको सन्देशलाई विश्वभर फैलाउन यस्ता आध्यात्मिक गतिविधि महत्वपूर्ण हुने धारणा व्यक्त गर्दै मृतआत्माको चिरशान्ति, घाइतेको शीघ्र स्वास्थ्यलाभ, परिवारजनमा समवेदना तथा सम्पूर्ण मानवजनको कल्याणका पक्षमा हुनलागेको धार्मिक अनुष्ठानमा सहभागी हुन सबैसँग अनुरोध गर्नुभयो । रासस























