देश/प्रदेश

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

Banner

दमौली (तनहुँ), भदौ २५ –

पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२ दशमलव ४२ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०८२\८३ मा कार्यालयले गरेको कालोपत्रका बारेमा जानकारी दिएको हो ।

उक्त आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको थियो । कार्यालय प्रमुख रवीन्द्र तिवारीले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सडकखण्डमा कालोपत्र गर्ने काम अघि बढाइएको बताउनुभयो । लक्ष्यअनुसार काम सम्पन्न हुन नसके पनि सडक स्तरोन्नतिमा उल्लेख्य प्रगति भएको उहाँले उल्लेख गर्नुभयो ।

सो आवमा १ दशमलव ६७ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको छ । सो अवधिमा तीन किलोमिटर कच्ची सडक निर्माण गर्ने लक्ष्य थियो । यस्तै, १५ किलोमिटर सडक चौडाइको लक्ष्य राखिएकामा १२ दशमलव ३७ किलोमिटर सडक चौडाइ विस्तार भएको छ ।

तिवारीका अनुसार सडक पूर्वाधारलाई व्यवस्थित बनाउन २१ दशमलव ५९ किलोमिटर नाली निर्माण भएको छ । नाली निर्माणको लक्ष्य २५ किलोमिटर थियो । त्यस्तै सडक संरक्षणका लागि २१ हजार ४२७ घनमिटर पर्खाल निर्माण भएको छ । सो अवधिमा २५ हजार घनमिटर पर्खाल निर्माण गर्ने लक्ष्य राखिएको थियो । तिवारीका अनुसार उक्त अवधिमा ६० वटा कजवे, कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ५६ वटा कजवे तथा कल्भर्ट निर्माण सम्पन्न भएको छ ।

पुल निर्माणमा भने कार्यालयले शत्प्रतिशत पूरा गरेको छ । सो आर्थिक वर्षमा तीन वटा झोलुङ्गे पुल र तीनवटा सडक पुल निर्माण सम्पन्न भएका छन् । दुवै प्रकारका पुल निर्माणको लक्ष्य तीन–तीन वटा नै थियो । आर्थिक वर्ष २०८१\८२ मा पूर्वाधार विकास कार्यालय तनहुँले ३८ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेको थियो ।

त्यसैगरी, २०८१\८२ मा एक दशमलव सात किलोमिटर कच्ची सडक, सात दशमलव चार किलोमिटर ग्राभेल सडक, ४२ किलोमिटर सडक चौडाइ विस्तार, ४५ दशमलव छ किलोमिटर नाली निर्माण, ५३ हजार ६१३ घनमिटर पर्खाल निर्माण भएको थियो । सो वर्ष सात वटा कजवे–कल्भर्ट र तीनवटा सडक पुल निर्माण सम्पन्न भएका थिए ।

कार्यालयका अनुसार सडकको स्तरोन्नति, चौडाइ विस्तार, नाली तथा संरक्षण संरचनासँगै कालोपत्रको कामलाई निरन्तरता दिइएको छ । जिल्लाका सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउँदै आवागमन सहज बनाउन आगामी वर्ष सडक कालोपत्र तथा स्तरोन्नतिका योजनालाई प्राथमिकतामा राखिएको तिवारीले बताउनुभयो ।

कार्यालयले सडकतर्फ रु ७१ करोड ७२ लाख ८२ हजार बजेट विनियोजन गरिएकामा रु ६१ करोड ७२ लाख ८१ हजार खर्च भएको छ । सडक पुलतर्फ रु २२ करोड १६ लाख ९६ हजार विनियोजन गरिएकामा रु २१ करोड ७१ लाख ८९ हजार खर्च भएको छ ।

यस्तै, झोलुङ्गे पुलतर्फ रु ९२ लाख ६९ हजार बजेट विनियोजन भएकामा रु ९२ लाख छ हजार खर्च भएको छभने सहरी विकास तथा भवनतर्फ रु ४० लाख विनियोजन भएकामा रु ३३ लाख नौ हजार खर्च भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>