देश/प्रदेश

सरकारले जेनजी आन्दोलनको भावना नै सम्बोधन गरेन : प्रकाश रसाइली

Banner

काठमाडौँ, भदौ २४

२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । देशमा बढ्दै गएको राजनीतिक अस्थिरता, अराजकता र पुरानो राजनीतिक दलहरुको प्रवृत्तिप्रतिको असन्तुष्टिका बीच युवाहरू सडकमा उत्रिएर परिवर्तनको माग गरेका थिए । आन्दोलनका क्रममा धेरै युवाहरुले ज्यान गुमाएका थिए ।

देशमा राजनीतिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको भन्दै आन्दोलन गरेका युवाहरुको मुख्य अपेक्षा सुशासन, जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको विकास भन्ने थियो ।

आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्ने, शासन प्रणालीमा सुधार ल्याउने र जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त भए पनि व्यवहारमा त्यसको प्रभाव पर्याप्त देखिन नसकेको आम मानिसको गुनासो छ

आन्दोलनले उठाएको परिवर्तनको आवाज अहिले पनि बहसको विषय बनेको छ । आन्दोलनमा ज्यान गुमाउनेहरूको योगदान र युवाहरूले अघि सारेका मागलाई सम्बोधन गर्दै देशलाई स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढाउनुपर्ने आवाज उठिरहेको छ ।

यसै संदर्भमा नेपाल न्यूज बैंकले गरेको कुराकानीमा नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाश रसाइली ९स्नेही०ले जेनजी आन्दोलनको भावना वर्तमान सरकारले सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।

उनले सरकार सुशासन, भ्रष्टाचार नियन्त्रण, जनताको दैनिक समस्या समाधान तथा राज्यका संवैधानिक निकायलाई प्रभावकारी बनाउने विषयमा असफल हुँदै गएको बताए ।

उनले आन्दोलनलाई २३ र २४ गतेका घटनाक्रमलाई छुट्टाछुट्टै कोणबाट हेर्नुपर्ने बताए । उनले २३ गते भएको आन्दोलनका क्रममा राज्यको कमजोरी र सूचना व्यवस्थापनको अभावका कारण धेरै युवाले अनाहकमा ज्यान गुमाउनुपरेको बताए । त्यसपछिको घटनाक्रमले आन्दोलनले अर्कै रूप लिएको उल्लेख गरे ।

‘२३ गते अनाहक रूपमा धेरै युवाहरूले निर्मम ढङ्गले ज्यान गुमाउनुपयो । त्यो राज्यको कमजोरी अथवा राज्यको सूचनाको कमजोरीका कारणले आन्दोलनले अर्कै रूप लियो,’ उनले भने ।

उनले २४ गते जेनजी आन्दोलनका नाममा सिंहदरबारदेखि पशुपतिनाथ, सर्वोच्च अदालत, व्यापारिक प्रतिष्ठान तथा सरकारी भवन र राष्ट्रिय सम्पत्तिमा आगजनी तथा तोडफोड भएको भन्दै त्यसलाई पनि गम्भीर रूपमा हेर्नुपर्ने बताए ।

रसाइलीले आन्दोलनका क्रममा शहादत प्राप्त गरेका युवाको सपना पूरा गर्नु सबै राजनीतिक दलको जिम्मेवारी भएको बताए । नेपाली कांग्रेसले आन्दोलनको स्वामित्व ग्रहण गर्ने उनले बताए ।

उनले लामो समयदेखि नेपाली राजनीतिमा बढेको जनआक्रोशकै परिणामस्वरूप युवाहरू सडकमा आएको दाबी गरे । राजनीतिक दलहरूले सत्ता प्राप्तिका लागि सिद्धान्त र विचारमा सम्झौता गर्ने प्रवृत्तिका कारण जनतामा निराशा बढेको उनले बताए ।

रसाइलीले भने, ‘नेपालका राजनीतिक दलहरू सत्ताका निम्ति जे पनि गर्ने, निर्वाचनमा दृष्टिकोण र सिद्धान्त नमिलेपनि सम्झौता गर्ने, निर्वाचनपछि फेरि अर्कोसँग सत्ताका लागि सम्झौता गर्ने प्रवृत्तिबाट नेपाली जनता आक्रान्त थिए । त्यसैको कारण जेनजी आन्दोलन भएको हो ।’

उनले जेनजी आन्दोलनको भावनाबाट बनेको वर्तमान सरकार नै जनताको अपेक्षा पूरा गर्न असफल भएको बताए । अस्पताल र ग्यासको लाइन, बाढीपहिरो पीडितको समस्या, औषधि–उपचार तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिलगायत विषयमा सरकार प्रभावकारी हुन नसकेको उनले बताए ।

पछिल्लो समयमा देशको अवस्था निकै भयावह भएको बताए । बाढीपहिरो पीडित नागरिकका लागि राहत वितरण तथा स्वास्थ्य उपचारको व्यवस्था प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताउँदै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे । उनका अनुसार विपद्को समयमा राज्यले नागरिकको आवश्यकता र भावना अनुसार काम गर्न सकेको छैन् ।

रसाइलीले सुशासनका दृष्टिले समेत सरकार असफल भएको बताए । उनका अनुसार जेनजी आन्दोलनको प्रमुख मुद्दामध्ये सुशासन भए पनि सरकारले त्यसअनुसार काम गर्न सकेको छैन । राजनीतिक नियुक्तिमा आफन्त तथा नजिकका व्यक्तिलाई प्राथमिकता दिएको भन्दै उनले सरकारमाथि प्रश्न उठाए ।

उनले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले पूर्वाग्रही ढङ्गले कारबाही गरिरहेको बताए । पर्याप्त प्रमाण र कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गर्ने र पछि अदालतबाट छुट्ने अवस्था देखिएको भन्दै उनले सरकारको कार्यशैली अपरिपक्व रहेको टिप्पणी समेत गरे ।

उनले सरकारले जनतालाई करको भार थप्दै गएको दाबी गरे । शिक्षा, स्वास्थ्य र बिजुलीजस्ता क्षेत्रमा कर लगाइएको भन्दै उनले करको नीति पुनरावलोकन गर्नुपर्ने बताए । मूल्यवृद्धि नियन्त्रण, दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र जनतालाई आधारभूत सेवा प्रदान गर्न सरकार केन्द्रित हुनुपर्ने उनले बताए ।

उनले जेनजी आन्दोलनका युवाको मुख्य अपेक्षा रोजगारी र देशभित्र अवसर सिर्जना गर्नु रहेको बताए ।

उनले भने, ‘जेनजी आन्दोलनका युवाहरू बेरोजगार छन् भने बेरोजगार भत्ता दिनुप¥यो । दुई–चार वर्ष त्यो भत्ता दिएर नेपालमा ठूलठूला कलकारखाना र उद्योग खोल्नुप¥यो । युवाहरूलाई नेपाल फर्काउने अभियान चलाउनुप¥यो ।’

दैनिक ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेको बताउँदै उनले सरकारसँग दीर्घकालीन रोजगारी सिर्जना गर्ने योजना नभएको बताए । रेमिट्यान्समा मात्रै निर्भर भएर मुलुक चलाउन नसकिने भन्दै प्राकृतिक स्रोतसाधनको उपयोग र नयाँ आम्दानीका स्रोत पहिचान गर्नुपर्ने उनले बताए ।

उनले सरकारलाई पाँच, १० र २० वर्षे योजनाका आधारमा अघि बढ्न सुझाव दिए । उनका अनुसार सरकारको ध्यान तत्कालीन लोकप्रियता र राजनीतिक स्टन्टमा भन्दा दीर्घकालीन आर्थिक विकास, रोजगारी सिर्जना र सुशासनमा केन्द्रित हुनुपर्छ ।

उनले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने समेत माग गरे । २३ गतेका घटनामा ज्यान गुमाउनेलाई शहीदका रूपमा सम्मान गर्नुपर्ने र २४ गते राष्ट्रिय तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडमा संलग्न दोषीमाथि कानुनी कारबाही हुनुपर्ने उनले बताए ।

रसाइलीले सरकारसँग अझै पर्याप्त समय रहेकाले आफ्नो कार्यशैली सुधार्न आग्रह गरे । जेनजी आन्दोलनको भावना सम्बोधन गर्दै संविधानको रक्षा, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र जनताप्रति उत्तरदायी शासन सञ्चालन गर्न सके सरकारको भविष्य सुरक्षित रहने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>