देश/प्रदेश

राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

Banner

न्युयोर्क (अमेरिका), भदौ २३-

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ ।

यसपटकको महासभाका लागि ‘विश्वासको पुनःस्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ नारा तय गरिएको छ ।

महासभाको सबैैभन्दा महत्वपूर्ण कार्यक्रम ‘सेटेम्बर’ १८ देखि २८ सम्मलाई मानिन्छ । सो अवसरमा विश्वभरको चासो, विश्व स्वास्थ्यदेखि शान्ति, सुरक्षा, मानवीय सहायतालगायतका विविध विषयहरुमा माथि छलफल हुन्छ ।

यसैगरी, ‘सेप्टेम्बर’ २२ देखि २६ तारिखसम्म विश्वभरका सदस्य राष्ट्रहरुका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभाको महत्वपूर्ण कार्यक्रममध्ये १८ ‘सेप्टेम्बर’का दिन दिगो विकासका लक्ष्यहरुको बारेमा छलफल हुनेछ जहाँ समुदाय, राष्ट्र र क्षेत्रीयरुपमा भइरहेका मानव तथा भौतिक विकास र विश्वव्यापीरुपमा भइरहेका कार्यप्रगतिको समीक्षासमेत गरिन्छ ।

यसैगरी, २३ सेप्टेम्बरको दिन जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु सम्मेलनको आयोजना हुँदैछ । यस सम्मेलनमा राष्टसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर, त्यसमा विकसित राष्ट्रहरुको भूमिका, प्रभावित देशहरुको अवस्था, ऊर्जा उत्पादन तथा उपभोक्ता अधिकारलगायका विविध विषयमा मजबुत सहकार्यको लागि आह्वान गर्नुहुने राष्ट्रसङ्घले जनाएको छ ।
जलवायु परिवर्तनबाट प्रत्यक्षरुपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरुको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षतिलगायतका मद्दालाई राष्ट्रसङ्घमा प्राथमिकताका साथ उठाउने भएको छ । खासगरी जलवायु न्याय र जलवायु असरले मानव जीवन, प्राकृतिक सम्पदा, ऊर्जालगायतका क्षेत्रमा पारेको असर, क्षति र क्षतिपूर्तिको मागको विषयमा नेपालको ध्यान केन्द्रित रहने बुझिएको छ ।

करिब एक दशकदेखि राष्ट्रसङ्घीय महासभाको समाचार सम्प्रेषण गर्दै आएको एक सञ्चारकर्मीको अनुभवका आधारमा जलवायु परिवर्तनको प्रभाव, क्षतिपूर्ति, अत्यधिक कार्बन उत्सर्जन गर्ने देशहरुको भूमिका, तापक्रम वृद्धि, जलवायु न्याय, दिगो विकासलगायतका विषयलाई राष्ट्रसङ्घीय मञ्चहरुमा नेपालले उच्च प्राथमिकताका साथ विश्व समुदायमाझ आवाज उठाउँदै आएको देखिन्छ ।

जलवायु परिवर्तनको चपेटामा समग्र विश्व समुदाय पर्दै गएको, तापक्रम वृद्धि, समुद्रको सतह वृद्धिलगायतका समस्याले कैयौँ देश प्रभावित भइरहेको अवस्थामा विश्वको साझा समस्या सम्बोधन गर्न वार्षिकरुपमा आयोजना हुने यस महासभाले विश्वको ध्यान खिचेको छ ।

साथै विश्वका विभिन्न भूगोल तथा क्षेत्रमा जारी रहेका विविध किसिमका युद्धले मानव जीवनमा आर्थिक भौतिक र सामाजिक क्षति गहिरिँदै गएकाले पनि यस महासभामा यी विषयमा आवश्यक छलफल एवं परामर्श हुने अपेक्षा गरिएको छ ।

राष्ट्रसङ्घीय महासभा सञ्चालनसम्बन्धी कार्यसूचीअनुसार यसपटकको ८१ औँ ‘सेसन’को अध्यक्षता बङ्गलादेशका कूटनीतिज्ञ खालिलुर रहमानले गर्नुहुने छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>