देश/प्रदेश
सर्लाहीमा वैदेशिक रोजगारीका नाममा ठगिएको १२ लाख रुपैयाँ प्रशासनको पहलमा फिर्ता

सर्लाही,भदौ २३-
वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने आश्वासन दिएर ठगी गरिएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा पीडितहरूले फिर्ता पाएका छन् । ईश्वरपुर नगरपालिका–१ का राजेन्द्र महतोका छोरा राकेश महतो ९नथुनी महतो०ले मौरिससमा वैदेशिक रोजगारी लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएका थिए ।
रकम बुझाएको लामो समय बितिसक्दा पनि उनले न रोजगारीका लागि विदेश पठाए, न त लिएको रकम फिर्ता गरेपछि पीडितहरूले आफू ठगीमा परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
राकेशले मलंगवा नगरपालिका–१० का राजकुमार रौनियार र अजय ठाकुर, ईश्वरपुर नगरपालिका–६ का पहलाद सहनी तथा ब्रह्मपुरी गाउँपालिका–६ का सन्दीप यादवबाट मौरिसस पठाउने प्रलोभनमा कुल १२ लाख रुपैयाँ लिएको बताइएको छ ।
पीडितहरूको उजुरीपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले दुवै पक्षलाई कार्यालयमा बोलाएर आवश्यक छलफल तथा समन्वय गरेको थियो । प्रशासनको रोहवरमा भएको छलफलपछि राकेश महतोका बुबा राजेन्द्र महतोले पीडितहरूबाट लिइएको सम्पूर्ण १२ लाख रुपैयाँ फिर्ता गरेका हुन् ।
वैदेशिक रोजगारीमा पठाउने नाममा हुने ठगीका घटना बढिरहेका बेला प्रशासनको पहलमा पीडितहरूले रकम फिर्ता पाउनु राहतको विषय बनेको छ । जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता जाँच गर्न र वैधानिक माध्यमबाट मात्रै प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
























