अन्तर्वार्ता
१५ हजार पोस्टमार्टम गरेका विज्ञ डा।वस्ती भन्छन् : फोरेन्सिक मेडिसिनलाई राज्यले बेवास्ता गर्यो

काठमाडौं भदौ १५ –
फोरेन्सिक मेडिसिन अर्थात् कानुनी चिकित्साको भूमिका अपराध अनुसन्धानदेखि न्याय सम्पादनसम्म अत्यन्त महत्वपूर्ण मानिन्छ । मृत्युको कारण पहिचान गर्ने, शंकास्पद मृत्युको वास्तविकता पत्ता लगाउने, यौनजन्य हिंसाका पीडितको स्वास्थ्य परीक्षण गर्ने तथा अदालतमा पुग्ने प्रमाणलाई वैज्ञानिक आधार दिने काममा फोरेन्सिक मेडिसिनको प्रत्यक्ष भूमिका हुन्छ ।
तर नेपालमा यही महत्वपूर्ण विषय राज्यको प्राथमिकतामा नपर्दा फोरेन्सिक मेडिसिनको अवस्था दयनीय बन्दै गएको विज्ञहरूको गुनासो छ । हालै विनाशकारी विपत्तिमा परी सयौं मानिसहरुको मृत्यु भएपछि फोरेन्सिक मेडिसिनको महत्वबारे बृहत चर्चा भइरहेको छ ।
फोरेन्सिक मेडिसिन विज्ञ प्राडा हरिहर वस्तीका अनुसार राज्यले यो विषयलाई आवश्यक महत्व नदिँदा देशमा उपलब्ध जनशक्ति, पूर्वाधार र विशेषज्ञताको समेत उचित उपयोग हुन सकेको छैन ।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा प्राडा वस्तीले भने, ‘राज्यले हेरेकै छैन । यही फोरेन्सिक मेडिसिनलाई राज्यले नहेर्दा पनि हालको दुर्दशा भएको हो ।’
उनका अनुसार राज्यले सामान्य रूपमा मात्रै भए पनि फोरेन्सिक मेडिसिनलाई सम्बोधन गरेको भए अहिलेको अवस्था यति कमजोर हुने थिएन । मेडिकल कलेजहरूमा रहेका विशेषज्ञलाई उपयोग गरेर आवश्यक पूर्वाधार निर्माण गर्न सकिने भए पनि त्यसतर्फ राज्यको ध्यान नपुगेको उनको भनाइ छ ।
नेपालमा फोरेन्सिक मेडिसिनका ५० भन्दा बढी विशेषज्ञ रहेको उल्लेख गर्दै उनले ती जनशक्तिलाई राज्यले आवश्यकताअनुसार उपयोग गर्न नसकेको बताए ।
‘मेडिकल कलेजमा फोरेन्सिक मेडिसिनका विज्ञहरू म जस्ता ५० भन्दा बढी छौँ । तर राज्य बेखबर छ । ती कहाँ के गरेका छन्, राज्यले युटिलाइज गरेको छैन,’ उनले भने ।
विशेषज्ञ हुँदाहुँदै मेडिकल अफिसरबाटै काम
फोरेन्सिक मेडिसिनका अधिकांश काम अहिले पनि विशेषज्ञको सट्टा मेडिकल अफिसरबाटै गराउने गरिएकोप्रति प्राडा वस्तीले असन्तुष्टि जनाए ।
उनका अनुसार कतिपय ठाउँमा फोरेन्सिक मेडिसिनका विशेषज्ञ उपलब्ध हुँदाहुँदै पनि नजिकैको जिल्ला अस्पतालमा मेडिकल अफिसरले मेडिको–लिगल काम गरिरहेका छन् ।
उनले भने, ‘फोरेन्सिक मेडिसिनका विशेषज्ञ हुँदाहुँदै नजिकैको जिल्ला अस्पतालमा मेडिकल अफिसरले मेडिको–लिगल काम गरिरहेका छन् । राज्यले विशेषज्ञलाई उपयोग गरेको छैन । जसले जानोस् नजानोस्, मेडिकल अफिसरलाई काम जिम्मा दिने अवस्था छ ।’
कानुनले भने सम्भव भएसम्म फोरेन्सिक मेडिसिनसम्बन्धी काम विषयविज्ञबाट र विज्ञ उपलब्ध नभए विशेष तालिम प्राप्त चिकित्सकबाट गराउनुपर्ने व्यवस्था गरिसकेको उनको भनाइ छ । तर कानुनमा सुधार भए पनि व्यवहारमा पुरानै अभ्यास कायम रहेको उनले बताए ।
‘कानुनमा सुधार भइसक्यो । अब भरसक विज्ञले गरोस्, नभए विशेष तालिम प्राप्त स्वास्थ्यकर्मीले गरोस् भन्ने हो । सबै मेडिकल अफिसर तालिम लिएका छैनन्,’उनले भने ।
११औँ तहका विशेषज्ञलाई प्रशासनिक जिम्मेवारी
फोरेन्सिक मेडिसिनका विज्ञलाई उनीहरूको विशेषज्ञताअनुसार उपयोग गर्नुको सट्टा अन्य प्रशासनिक जिम्मेवारीमा खटाइनु अर्को विडम्बना भएको प्राडा वस्तीको भनाइ छ ।
उनका अनुसार फोरेन्सिक मेडिसिनमा ११औँ तहसम्म पुगेका विशेषज्ञलाई स्वास्थ्य सेवा विभागको प्रशासनिक महाशाखाको जिम्मेवारी दिइएको छ ।
‘फोरेन्सिक मेडिसिनको ११औँ तहको विशेषज्ञले यस्तो बेलामा राय दिनुपर्ने, फिल्डमा गएर हेल्प गर्नुपर्ने, सपोर्ट गर्नुपर्ने, राज्यलाई घच्घच्याउनुपर्ने, गाइड गर्नुपर्ने हो,’उनले भने, ‘तर उसलाई स्वास्थ्य सेवा विभागको कुनै एउटा महाशाखाको प्रशासनिक जिम्मेवारी दिएर राखिएको छ ।’
फोरेन्सिक मेडिसिनका विज्ञलाई नीति निर्माणमा सहभागी गराउनुपर्ने, पोस्टमार्टम हुने स्थानमा आवश्यक निर्देशन दिनुपर्ने तथा यौनजन्य हिंसाका पीडितको परीक्षणसम्बन्धी चिकित्सकलाई मार्गदर्शन गर्नुपर्ने उनको भनाइ छ ।
विशेषज्ञता पढ्ने विद्यार्थी नै घट्दै
राज्यको बेवास्ताका कारण फोरेन्सिक मेडिसिन पढ्न आउने विद्यार्थीको संख्या समेत घट्दै गएको प्राडा वस्तीले बताए ।
उनका अनुसार सुरुका वर्षमा केही उत्साहका साथ विद्यार्थी आए पनि अहिले यो विषय रोज्नेको संख्या घटेको छ । यसको मुख्य कारण रोजगारीको अवसर, पूर्वाधार र प्रोत्साहनको अभाव रहेको उनी बताउँछन् ।
‘मान्छे पढ्न आउनै छाडे, किनभने पोजिसन छैन । जे गर्दा पनि भएको छ, फिजिकल फेसिलिटी छैन,’ उनले भने ।
अस्पतालमा पोस्टमार्टमका लागि आवश्यक आधारभूत संरचना, शव राख्ने फ्रिजलगायत सामग्रीसमेत पर्याप्त नहुँदा काम गर्ने चिकित्सक नै समस्यामा पर्ने उनको भनाइ छ ।
त्यसमाथि फोरेन्सिक मेडिसिन विशेषज्ञका लागि अन्य चिकित्सकीय विधाजस्तो निजी क्लिनिकबाट अतिरिक्त आम्दानी गर्ने अवसर नहुने भएकाले प्रोत्साहनको व्यवस्था आवश्यक रहेको उनले बताए ।
‘त्यही तलब खाएर त धान्दैन, परिवार पाल्न पनि सक्दैन । भनेपछि एक्स्ट्रा इन्सेन्टिभ चाहिन्छ,’ उनले भने ।
‘विज्ञबिना फोरेन्सिकको काम गराउनु चुनौतीपूर्ण मात्र होइन, गैरकानुनी हो ’
फोरेन्सिक मेडिसिनको काम अत्यन्त संवेदनशील हुने भएकाले विशेषज्ञता नभएको व्यक्तिबाट गराउँदा न्यायिक प्रक्रियामै असर पर्न सक्ने प्राडा वस्तीको चेतावनी छ ।
उनका अनुसार फोरेन्सिक मेडिसिनको विशेषज्ञता नभई यस्तो काम गर्नु चिकित्सकका लागि समेत ठूलो चुनौती हो । त्यसैले विशेषज्ञ उपलब्ध हुँदाहुँदै अन्य व्यक्तिबाट त्यस्तो काम गराउनु उचित नहुने उनको तर्क छ ।
फोरेन्सिक ल्याबमा पनि पूर्वाधारको अभाव
नेपालको फोरेन्सिक ल्याबको अवस्था पनि विकसित मुलुकको तुलनामा प्रारम्भिक चरणमै रहेको प्राडा वस्ती बताउँछन् ।
नेपालमा प्रारम्भिक प्रकृतिका ल्याबहरू सञ्चालनमा रहेको र प्रदेशस्तरमा समेत शाखा विस्तार भइरहेको भए पनि आधुनिक प्रविधि र दक्ष जनशक्तिको अभाव रहेको उनको भनाइ छ ।
‘२१औँ शताब्दीमा विकसित देशमा हुने टेक्नोलोजी यहाँ सबै छैन । अनि त्यो सम्बन्धी विषयका विज्ञहरू पनि छैनन्,’ उनले भने ।
सामान्य तालिमका आधारमा काम चलाउनुपर्ने अवस्थाले परीक्षणको गुणस्तरमा असर पर्न सक्ने उनले चिन्ता व्यक्त गरे ।
१५ हजारभन्दा बढी पोस्टमार्टम
प्राडा वस्ती स्वयंले आफ्नो लामो करियरमा १५ हजारभन्दा बढी शव परीक्षण अर्थात् अटप्सी गरेको बताए ।
द्वन्द्वकालमा काठमाडौंमा ठूलो संख्यामा मृत्युका घटना हुने र काभ्रे, भक्तपुरलगायत जिल्लाका धेरै केससमेत काठमाडौं ल्याइने भएकाले आफूले अत्यधिक पोस्टमार्टम गर्नुपरेको उनले बताए ।
‘मैले १५ हजारभन्दा बढी अटप्सी गरेँ,’ उनले भने, ‘द्वन्द्वको बेला केसहरूको संख्या असाध्यै ठूलो थियो । काभ्रे, भक्तपुरको केस सबै काठमाडौं नै आउँथ्यो ।’
वीर अस्पतालमा एक्लै काम गरेको समयदेखि शिक्षण अस्पतालमा समेत सीमित जनशक्तिका बीच लामो समय काम गर्नुपरेको उनले बताए । पछि फोरेन्सिक मेडिसिनमा एमडी कार्यक्रम सुरु भएपछि मात्रै विशेषज्ञ जनशक्ति विस्तार हुन थालेको उनको भनाइ छ ।
‘मेटासिड खाएर आत्महत्या’ भनिएको बालिकाको केस
आफ्नो लामो सेवाकालमा आफूले कहिल्यै बिर्सन नसक्ने केही घटनामध्ये चाबहिलमा एक न्यायाधीशको घरमा भएको बालिकाको हत्या पनि रहेको प्राडा वस्तीले सुनाए ।
करिब ११–१२ वर्षकी बालिकामाथि यौन हिंसा गरी हत्या गरिएको अवस्थामा शव परीक्षणका लागि ल्याइएको उनले बताए । तर प्रहरी कागजातमा भने उक्त घटनालाई ‘मेटासिड सेवन गरी आत्महत्या’ भनेर उल्लेख गरिएको थियो ।
शवको अवस्था हेरेपछि आफूले उक्त घटना आत्महत्या नभएको निष्कर्ष निकालेको उनले बताए ।
‘म त्यो केस कहिल्यै बिर्सिन्नँ । पुलिसले डकुमेन्ट चाहिँ ‘मेटासिड सेवन गरी आत्महत्या’ भनेर लिएर आएको थियो,’ उनले सम्झिए ।
प्रहरीलाई घटनाको मुचुल्का पुनः लिएर आउन आग्रह गर्दा पनि तत्काल सुनुवाइ नभएपछि आफूले पत्रकारलाई बोलाएर घटनाबारे सार्वजनिक गर्न आग्रह गरेको उनले बताए ।
त्यसपछि घटनाले व्यापक चर्चा पाएसँगै प्रहरी अनुसन्धान अगाडि बढेको र घटनाको मुचुल्कासमेत सच्याइएको उनको भनाइ छ । अन्ततः उक्त घटनामा समोद मण्डल दोषी ठहरिएको उनले बताए ।
प्राडा वस्तीका अनुसार यो घटनाले फोरेन्सिक मेडिसिनको महत्व स्पष्ट पार्छ । प्रारम्भिक अनुसन्धानमै घटनालाई गलत दिशामा लैजान खोजिए पनि वैज्ञानिक परीक्षणले वास्तविकता पहिचान गर्न सहयोग पु¥याउन सक्ने उनको भनाइ छ ।
द्वन्द्वकालका विभत्स घटनाको साक्षी
द्वन्द्वकालमा आफूले टाउको र शरीर छुट्टाछुट्टै भएका तथा अत्यन्त विभत्स अवस्थामा ल्याइएका शवसमेत परीक्षण गरेको उनले बताए ।
यस्ता दृश्य फोरेन्सिक विज्ञका लागि पनि असामान्य र अस्वाभाविक हुने उनको अनुभव छ ।
बालबालिकामाथि हुने हिंसात्मक हत्याका घटनाहरू भने अझ बढी स्मरणमा रहने उनले बताए । ‘हरेक अस्पतालमा २४ घण्टामा फोरेन्सिक केस आउँछन्,’ उनले भने ।
प्राडा वस्तीले फोरेन्सिक मेडिसिनलाई राज्यले तत्काल प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताए । उनका अनुसार देशका हरेक अस्पतालमा नियमित रूपमा मेडिको–लिगल प्रकृतिका केस आउने भएकाले त्यसको व्यवस्थापनका लागि न्यूनतम मापदण्डको पूर्वाधार आवश्यक छ ।
मच्र्युरी, पानी, विद्युत्, शव राख्ने फ्रिज, व्यक्तिगत सुरक्षा सामग्री, ग्लोभ्स, गम्बुट, एप्रोन तथा आवश्यक सहयोगी जनशक्तिसहितको न्यूनतम संरचना हरेक अस्पतालमा हुनुपर्ने उनले बताए ।
स्वास्थ्य र गृह मन्त्रालयबीच समन्वय आवश्यक
फोरेन्सिक मेडिसिन सुधारका लागि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालय दुवैले समन्वय गरेर काम गर्नुपर्ने उनको सुझाव छ ।
प्रहरीले शव तथा केस अस्पतालमा ल्याएर छाडिदिने र स्वास्थ्य पक्षले उपलब्ध साधनस्रोतअनुसार मात्रै काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए ।
‘गृहले पनि पुलिसले केस ल्याएर छोडिदिने, जे हुन्छ त्यही भनेर एक्सेप्ट गर्नुहुँदैन । अनि स्वास्थ्यले पनि जे पाए त्यही तालले चलाउनुहुँदैन,’ उनले भने ।
उनका अनुसार कानुनमा आवश्यक सुधार भइसकेको अवस्थामा अब त्यसलाई व्यवहारमा लागू गर्ने जिम्मेवारी राज्यको हो ।
विज्ञलाई फिल्डमै परिचालन गर्नुपर्छ
फोरेन्सिक मेडिसिनका विज्ञहरूको संस्था मेडिको–लिगल सोसाइटी अफ नेपालले समेत उपलब्ध विशेषज्ञलाई विभिन्न जिल्लामा परिचालन गर्न थालेको उनले जानकारी दिए ।
आफूहरूले नवलपरासी, रसुवालगायतका अस्पतालमा विज्ञ पठाउने काम गरिरहेको उनले बताए ।
विशेषज्ञले दस्तावेजीकरणदेखि परीक्षणसम्मका काम गर्ने भएकाले त्यो अझ वैज्ञानिक र विश्वसनीय हुने उनको तर्क छ ।
‘लास कुहिँदैमा महामारी फैलिँदैन’
फोरेन्सिक मेडिसिनबारे मात्र होइन, शव व्यवस्थापनसँग जोडिएको अर्को आम धारणाबारे पनि प्राडा वस्तीले स्पष्ट पार्नुपर्ने आवश्यकता औँल्याए ।
शव कुहिँदा, सड्दा वा जनावरका शव गल्दा महामारी फैलिन्छ भन्ने धारणा गलत भएको उनले बताए ।
‘लासहरू कुहियो, सडी–गली गयो भने अथवा गाई–भैँसी, कुकुर–बिराला सबै सडी–गली गए भने कहीँ महामारी फैलिन्छ भन्ने छ । होइन । त्यो एकसय प्रतिशत झुट हो,’ उनले भने ।
उनका अनुसार शव कुहिँदा दुर्गन्ध र वातावरणीय असहजता उत्पन्न हुन सक्छ । तर त्यसकै कारण महामारी फैलिन्छ भन्ने वैज्ञानिक आधार नभएको उनको दाबी छ ।
महामारी फैलिनका लागि रोगजनक जीवाणु वा भाइरसको संक्रमण आवश्यक हुने र मृत शरीरबाट मात्रै त्यस्तो संक्रमण स्वतः फैलिन्छ भन्ने धारणा गलत भएको उनले बताए ।
यद्यपि, कुनै व्यक्तिको मृत्यु संक्रामक रोगका कारण भएको अवस्थामा भने शव व्यवस्थापन गर्दा सम्बन्धित संक्रमणको जोखिमलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।
अब ‘कानुन’ होइन, कार्यान्वयनको पालो
फोरेन्सिक मेडिसिनको महत्व न्याय, कानुन र मानवीय संवेदनासँग प्रत्यक्ष जोडिएको प्राडा वस्तीको निष्कर्ष छ ।
नेपालमा कानुनी व्यवस्था सुधारोन्मुख भए पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर हुँदा फोरेन्सिक मेडिसिनको क्षेत्र उपेक्षित बनेको उनको भनाइ छ ।
‘सबैभन्दा मुख्य कुरो त यो विषयलाई एड्रेस गरियोस्, यथोचित सम्बोधन गरियोस्,’ उनले भने ।
विशेषज्ञ उपलब्ध हुने ठाउँमा विशेषज्ञबाटै, नभए विशेष तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मेडिको–लिगल परीक्षण तथा पोस्टमार्टम गराउने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ ।
फोरेन्सिक मेडिसिन केवल शव परीक्षण गर्ने विषय नभई अपराध अनुसन्धान, न्यायिक प्रक्रिया, पीडितको अधिकार र मानवअधिकारसँग जोडिएको महत्वपूर्ण चिकित्सा विधा भएकाले यसको विकासमा राज्यले अब ढिलाइ गर्न नहुने उनको जोड छ । न्यूज बैंक



























